राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी प्रतिनिधिसँग आफू संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार साँझ रवि, उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्। तीन पक्षबीच भएको सम्झौतापछि जेनजी प्रतिनिधिहरूले रविसँग भेट गरेका थिए।
काउन्सिल अफ जेनजी, जेनजी अलायन्स र नेपाल जेनजी फ्रन्टका प्रतिनिधिहरूले उनीसँग केहीबेर कुराकानी गरेका थिए।
जेनजी प्रतिनिधिहरू रक्षा बम, सुदन गुरूङ, युजन राजभण्डारी, ओजस्वी थापा, मनिष खनाल, प्रदीप ज्ञवाली, उपार्जुन चाम्लिङ, रिजन राना मगर लगायत उपस्थित थिए।
केहीबेरको भेटमा रक्षा बमले जेनजी र सरकारबीच भएको १० बुँदे सम्झौताको म्यान्डेटबारे जिज्ञासा राखेकी थिइन्।
सुरूमा रक्षाले जेनजी आन्दोलनमा राज्यले गरेको व्यवहारबारे सुनाएकी थिइन्।
'तपाईंहरूबीच सम्झौता टुंगियो। जेनजी आन्दोलन तपाईंहरूलाई एक ठाउँमा ल्याउने माध्यम बनेको छ। आन्दोलनमा विभिन्न समूहमा रहेका जेनजी प्रतिनिधिले बोकेको क्रेडिट यो पार्टीमा ल्याएका छौं। अब तपाईंहरूले जेनजी र सरकारबीच भएको सम्झौता/म्यान्डेटको अपनत्व लिनुपर्छ,' रक्षाका भनाइ उद्धृत गर्दै त्यहाँ उपस्थित एक जेनजी प्रतिनिधिले सेतोपाटीसँग भने।
उनले जेनजी प्रतिनिधिहरूको आवाज रास्वपाले सुन्नुपर्ने र प्रतिनिधित्व गराउने विषयमा पनि धारणा राखेकी थिइन्।
जेनजी आन्दोलनको म्यान्डेटको अपनत्व लिन आफूहरू सकारात्मक नै रहेको रविको जबाफ थियो।
त्यस्तै रास्वपाको सिद्धान्तको विषयमा पनि कुराकानी गर्न आवश्यक रहेको रक्षाले बताएकी ती जेनजी प्रतिनिधिले बताए।
त्यसको जबाफमा रविले 'हामी संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिबद्ध छौं। हामी त्यही लाइनमा छौं। बकाइदा पार्टीको विधानमा लेख्नेछौं' भनेका थिए।
यसअघि रक्षाले बालेन शाहसँगको कुराकानीमा पनि वैचारिक स्पष्टता खोजेकी थिइन्।
बालेनले पनि आफू अहिलेकै व्यवस्था, संविधान अनुसार अघि बढ्ने बताएका थिए।
'संघीयता चाहिन्छ। यो संविधान बेस्ट नै छ। कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या भएको हो,' बालेनले रक्षासँग भनेका थिए।