धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र काउन्सिल अफ जेनजीका कोशी संयोजक उपार्जुन चाम्लिङसहित युवाहरूको भेटवार्ता भएको छ।
सोमबार संस्कृति पार्टीको धरानस्थित केन्द्रीय कार्यालयमा उनीहरूबीच करिब दुई घन्टा छलफल भएको हो।
कोशी संयोजक उपार्जुनका अनुसार जेनजी आन्दोलनपछि म्यान्डेटका विषयमा छलफल गर्न विभिन्न नेताहरूसँग भेटघाट गर्ने क्रममा साम्पाङसँग पनि भेट भएको हो।
'जेनजी आन्दोलनपछि सरकारसँग भएको सम्झौतालाई श्रम संस्कृति पार्टीले कसरी लिन्छ त भनेर हामीले कुराकानी गर्न गएका हौं,' उनले भने, 'जेनजीको समर्थन खोजेको हो भने घोषणा पत्रमै यसलाई समेट्नुपर्छ भनेर कुरा राख्यौं। जनता आफैले बुझ्ने गरी म्यान्डेटलाई घोषणा पत्रमा राख्नुपर्छ भन्यौं।'
जेनजी युवालाई पार्टीमा समेट्ने हो भने कुन आधारमा समेट्ने भन्ने विषयमा छलफल हुन आवश्यक रहेको कुरा पनि उनले बताएका थिए।
त्यस्तै, जेनजी प्रतिनिधिहरूले साम्पाङलाई अहिलेको अवस्थामा नयाँ राजनीतिक दलप्रति नकारात्मक नहुन अनुरोध गरेका थिए।
पछिल्लो समय हर्कले कुनै पनि दलसँग गठबन्धन नगर्ने, कुलमान घिसिङ र बालेन शाह लगायतलाई समेत व्यंग्य गर्दै आएका छन्।
'तपाईंले पुराना दलभन्दा नयाँ दललाई अलि बढी टार्गेट गर्नुभएको पायौं। त्यसले जेनजी प्रतिनिधिहरू निराश छन्। त्यसतर्फ ख्याल गर्नुपर्यो,' उपार्जुनले छलफलमा भनेका कुरा सुनाए, 'सकेसम्म क्षेत्रीय रूपमा भए पनि गठबन्धन गर्न जरूरी छ। कुनै क्षेत्रमा आवश्यकता अनुसार सहकार्य गर्न लचक हुनुपर्छ। नत्र जेनजी प्रतिनिधिले खोजेको नतिजा आउन सक्दैन। त्यसको दोष तपाईंमाथि नलागोस् भन्यौं।'
जबाफमा हर्कले कुनै पनि हालतमा गठबन्धन नहुने बताएको उनले बताए।
त्यसपछि आफूहरूले सम्झाउने प्रयास समेत गरेको उनको भनाइ छ।
'तपाईंले पार्टी पनि त क्यान्सर हो भनेर आउनुभएको थियो। अहिले दलको नेता हुनुहुन्छ। त्यसको अर्थ गलत होइन, तर आवश्यकता अनुसार हो भन्यौं। आवश्यकता अनुसार पुरानो विचार छाडेर जानुपर्ने हुन सक्छ भनेर पनि भन्यौं,' उपार्जुनले भने।
जबाफमा हर्कले 'दायाँबायाँ छाड्नुस्। को कहाँबाट उठ्दै हुनुहुन्छ, माटो चिह्न लिएर उठ्नुस्' भनेको उनले जानकारी दिए।
काउन्सिल अफ जेनजीका उदयपुर, ओखलढुंगा, इलाम, मोरङ, धनकुटा र सुनसरी जिल्ला संयोजकसहित १२ जना सदस्यहरू भेटमा सहभागी थिए।
