नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिएको छ।
आइतबार र सोमबारका लागि तय गरिएको विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढेपछि लम्बिएको हो।
आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा सोमबारदेखि बन्द सत्र सुरू भएको थियो।
बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
९ वटा समूह बनाएर ती प्रतिवेदनहरूमा सोमबारदेखि नै छलफल सुरू भएको थियो।
प्रतिवेदनमाथिको छलफल जारी रहने गरी सोमबार बन्द सत्र सकिएको थियो।
विशेष महाधिवेशन पक्षका नेता मनोजमण आचार्यले मंगलबार बिहान ९ बजेदेखि पुनः बन्द सत्र सुरू हुने बताएका छन्।
उनका अनुसार मंगलबारको बन्द सत्रमा ती ९ समूहको टोली नेताले आफ्नो समूहले निकालेको छलफलको निष्कर्ष हलमा टेबुल गर्नेछन्।
त्यसपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।
केन्द्रीय कार्यसमितिको निर्वाचन प्रयोजनका लागि एक जना संयोजक रहने गरी पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने विशेष महाधिवेशनको कार्यविधिमा उल्लेख छ।
निर्वाचन समितिले निर्वाचन सम्बन्धि कार्यविधि/निर्देशिका तया गरी निर्वाचन सम्पन्न गर्न सक्नेछ।
विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम नियमित महाधिवेशनकै प्रक्रियामा अघि बढ्ने नेता आचार्यले सोमबार बेलुकीको पत्रकार सम्मेलनमा बताएका थिए।
विशेष महाधिवेशन पक्ष नेतृत्व चयन प्रक्रियाको संघारमा पुगेपछि संस्थापन र नेता शेखर कोइराला पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने तयारी गरेको छ।
संस्थापन पक्ष नेतृत्व चयन रोकेर पार्टीको एकता कायम राख्नुपर्ने पक्षमा छ।
सभापति शेरबहादुर देउवाले सोमबार साँझ कोइराला तथा आफू पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए।
छलफलमा नेताहरूले महामन्त्रीद्वयलाई छलफलमा बोलाउन सभापतिलाई सुझाव दिएका थिए।
मंगलबार दुई पक्षबीच छलफलको तयारी छ।
छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन र विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल लगायतका नेताहहरूलाई पठाउने तयारी छ।
विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का समापनसम्म हलमा आउने दाबी गरेका छन्।
'महाधिवेशनको समापनसम्म कांग्रेस नेतृत्व आउँछ, आउनुपर्छ। शेरबहादुर दाइ आउनुहुन्छ। पूर्णबहादुर दाइ आउनुपर्छ, आउनुहुन्छ,' नेता मनोजमणि आचार्यले सोमबारको प्रेस ब्रिफिङमा भनेका थिए, ' यसको अपनत्व लिनुपर्छ। लिइदिनुस् भनेर अहिले पनि भनिरहेका छौं।'
नआएको खण्डमा नियमित महाधिवेशनले गर्ने काम विशेष महाधिवेशनले गर्ने उनले बताए।
'आउनुभएन भने नियमित महाधिवेशनले गर्ने काम विशेष महाधिवेशनले गर्छ। निर्वाचनको प्रक्रिया गरेर अगाडि बढ्छौं,' उनले भने।
विशेष महाधिवेशन पक्षका अर्का नेता सुवास पोखरेलले सभापति र महामन्त्री चाँडै संवाद गर्न र हलमा आएर निष्कर्ष सुनाउन आग्रह गरे।
'तपाईंहरुले एउटा निष्कर्ष लिएर छिट्टै आउनुस्। त्यसपछि हललाई तपाईंहरू सुनाउनुस्। हामी विचार गर्छौं,' उनले भने, 'यो सबै पार्टीकै कुरा हो। कांग्रेस बनाउने कुरा हो मुलुक बनाउने कुरा हो। यसलाई सच्याउने हो। सुधार्ने हो। प्रक्रियागत वैधानिक रूपमा सच्याउने खोजिरहेका छौं। जबरजस्ती गर्दैनौं।'
उनले नेताहरूले आफ्नो भूमिका निभाए सदस्यहरूले पनि आफ्नो भूमिकामा काम गर्ने बताए। नेताहरुले आफ्नो भूमिकामा काम गर्नुस् हामी सदस्यले हाम्रो भूमिकामा काम गरिरहेका छौं।
यसमा दुइटा मात्रै सर्त रहेको उनले बताए।
'नीति र नेतृत्व परिवर्तन र महाधिवेशन प्रतिनिधिको स्वाधीनता स्वीकार्ने कुरालाई आत्मसात गर्ने अवस्था बन्नुपर्छ,' उनले भने।