नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टी (नकपा) प्रवेश गरेका छन् ।
सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरूको उपस्थितिमा पार्टीमा स्वागत गरे। सुवेदी २०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए। रोल्पा निवासी उनी राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टी महासचिवसमेत रहेका विप्लव चुनाव लड्ने तयारीमा रहेका बेला सुवेदी नेकपामा प्रवेश गरेका हुन्। सुवेदीले निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता एवंपूर्वअर्थमन्त्री वर्षमान पुनलाई सघाउन मुलघरमा फर्किएको बताए। पुनसँग चुनावी प्रतिस्पर्धामा नउत्रन आफूहरूले गरेको आग्रह अस्वीकार गरेको र जिल्लाको विकासका लागि पुनको जित आवश्यक रहेकाले आफूले विप्लवको साथ छाडेको सुवेदी बताउँछन्। ‘उहाँहरू दुई जना एकै क्षेत्रबाट चुनाव लड्नु हुँदैन भन्ने हाम्रो आग्रह हो। विप्लव कमरेडलाई धेरैपटक आग्रह गर्दा पनि मान्नुभएन,’ सुवेदीले भने, ‘जिल्लाको विकासका लागि विप्लवभन्दा अनन्त कमरेडको आवश्यकता छ भन्ने आमकार्यकर्ताको बुझाई भएकाले मुल घरमा फर्कने निधो गरें।’
पार्टी प्रवेश कार्यक्रममा नेता पुनका साथै सुवेदीका पिता झक्कुप्रसाद पनि सहभागी थिए। २०७४ र ०७९ मा रोल्पाबाट प्रतिनिधिसभा सदस्य नर्वाचित पुन आगामी निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन्।