नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरूले पार्टी एकताबद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन्।
मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पारे।
उनले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गरे।
उनले भने, ‘हामी पार्टी एकताबद्ध भएर जाओस् भन्ने चाहन्छौँ। कुरा पनि भइरहेको छ। र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन। पार्टी विभाजन हुँदैन। त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन। त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोसिस गरिरहेका छौँ। उहाँहरूले पनि त्यही लचकताका साथ आउनुपर्यो।’
उनले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपिल समेत गरे। –न्युज एजेन्सी नेपाल