नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुन लागेका निर्वाचनको मनोनयन पत्र दर्ता गर्ने समय संशोधन गरिएको छ।
विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचना अनुसार मनोनयन पत्र दर्ता गर्ने समय साढे ६ देखि साढे ७ बजेसम्म कायम गरिएको छ।
यसअघि मनोनयन दर्ता गर्ने समय २ देखि ३ बजे तोकिएको थियो।
अहिले मनोनयनको निम्ति फारम वितरण जारी छ।
सोमबारको बन्द सत्रले ध्वनि मतले पारित गरेको कार्य विधि अनुसार नयाँ केन्द्रीय समिति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो।
सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन्। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन्।
पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ।