भारतले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५३८ वटा गाडी दिने भएको छ।
निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको हो। २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो।
आयोग स्रोतले सेतोपाटीसँग भन्यो – भारतीय पक्षले यसै सातादेखि गाडी पठाउन थाल्ने जानकारी दिएको छ।
‘माघको दोस्रो साता (जनवरी अन्तिम) भित्र सबै गाडी आइसक्ने जानकारी प्राप्त भएको छ’, आयोग स्रोतले भन्यो, ‘निर्वाचनको सुरक्षाका लागि पनि गाडी आउनु महत्वपूर्ण छ।’
भारतले दिनेमध्ये सय वटा गाडी विशेष प्रकारका हुने बताइएको छ।
नेपालको निर्वाचनका लागि युरोपेली मुलुकहरूले भने संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने जानकारी दिएका छन्।
जापानले सिधै आर्थिक सहायता गर्ने भएको छ। चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहयताको शीर्षक परिवर्तन गरेर चुनावमा सहयोग गर्न लागेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ।
निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर चीनका तर्फबाट कुनै पनि जबाफ प्राप्त नभएको स्रोतले जनाएको छ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड बजेट स्वीकृत गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड छुट्याएको छ।