नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार अपराह्न सुरू दोस्रो चरणको वार्ता बिनानिर्णय टुंगिएको छ।
सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको 'बटमलाइन' मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो।
वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए। यसको विकल्पमा देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरी राजनीतिक रूपमा निस्क्रिय हुनुपर्ने माग गरिएको थियो।
विशेष महाधिवेशन पक्षधरले यी दुवै विकल्प अगाडि सर्दा संस्थापन पक्षका वार्ताकारहरूले 'सभापतिको कुरा उहाँले नै भन्नुपर्छ, उहाँसँगै सोध्नुपर्छ' भनेपछि वार्ता टुंगोमा नपुगेको सहभागी एक नेताले जानकारी दिए।
'सभापतिले राजीनामा दिएर सहमतिका आधारमा नयाँ नेतृत्व चुन्ने वा उहाँले आगामी चुनाव नलड्ने विकल्पबारे छलफल हुँदा यसको निर्णय त सभापतिबाटै आउनुपर्छ भन्ने कुरा भएपछि सहमति हुन सकेन,' ती नेताले भने।
मंगलबार बिहानबाट दोस्रो चरणमा बसेको वार्ता निष्कर्षविहीन भएपछि अब कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई जना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै एक पटक कुरा गर्ने संस्थापन पक्षका वार्ताकारले बताएका छन्।
'अब कार्यवाहक सभापतिले दुवै महामन्त्रीसँग एकचोटि कुरा गर्नुहुन्छ, त्यसपछि आवश्यक परे तपाईंहरूलाई खबर गरूँला भन्नुभयो,' वार्तामा सहभागी ती नेताले भने।
वार्तामा विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन गर्नुपर्ने कुरा पनि उठेको थियो।
वार्तामा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।
त्यस्तै, संस्थापनतर्फ देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।
यसबीच भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्र महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव पारित गर्दै सकिएको छ। बन्द सत्रको पहिलो दिन सोमबार दुवै महामन्त्रीले आ-आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समिति बनाइएको थियो। ती समूहले बन्द सत्रको दोस्रो दिन आज मंगलबार आ-आफ्नो निष्कर्ष सुनाउँदै सुझाव दिए। तिनै सुझावहरू समेट्दै दुवैको प्रस्ताव पारित गरिएको हो।
सँगसँगै, नयाँ केन्द्रीय समिति चयन गर्न मनोनयन पत्र दर्ता गर्ने समय राति साढे ७ बजेसम्मलाई तोकिएको छ। मतदान भने बुधबार बिहान हुनेछ।
एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो। सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन्। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन्। पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ।
पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ। यसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ।
त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क तोकिएको छ।
विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्। चौधौं महाधिवेशनका प्रतिनिधिको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो। चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए। पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ। यद्यपि विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि मात्र सहभागी छन्।