अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छाड्न निर्देशन दिएको छ।
तेहरान हेर्ने भर्चुअल अमेरिकी दूतावासले विज्ञप्ती जारी गरी इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश छाड्न निर्देशन दिएको हो।
दूतावासले इरानमा दुई साताभन्दा लामो समयदेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्था र प्रदर्शनकारीमाथि त्यहाँको सरकारले गरेको दमनका बीच अमेरिकी नागरिकहरू असुरक्षित हुन सक्ने भन्दै तत्काल देश छाडेर अन्यत्र जान भनेको हो।
बढ्दो प्रदर्शनबीच इरानमा अमेरिकी नागरिकहरू पक्राउ पर्ने सक्ने खतरा रहेकाले देश छाड्न भनिएको हो।
इरानमा सुरक्षा बलको उपस्थिति कडा बनाइएको छ भने सडक अवरोध, सार्वजनिक यातायात अवरुद्ध, तथा इन्टरनेट र सञ्चार सेवामा व्यापक प्रतिबन्ध जारी छ।
इरानी सरकारले मोबाइल, ल्यान्डलाइन र राष्ट्रिय इन्टरनेट नेटवर्कमा पहुँच सीमित गरेको जनाइएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएका छन्, धेरै एयरलाइन्सले इरान आउने–जाने उडान रद्द गरेका छन् भने केहीले जनवरी १६ सम्म सेवा स्थगित गरेका छन्।
इरानमा जारी प्रदर्शनमा बुधबारसम्म मृत्यु हुनेको संख्या झन्डै २५ सय पुगेको छ।
अमेरिकी नागरिकहरूलाई इन्टरनेट अवरुद्ध हुने अवस्था लामो समय रहन सक्ने भन्दै वैकल्पिक सञ्चार माध्यमको तयारी गर्न भनिएको छ। अवस्था सुरक्षित भएमा स्थलमार्ग प्रयोग गरी आर्मेनिया वा टर्की हुँदै इरान छाड्न पनि सुझाव दिइएको छ।
विज्ञप्तीमा अमेरिकी नागरिकहरूलाई सरकारी सहयोगमा निर्भर नपरी स्वयं सुरक्षित रूपमा देश छाड्ने योजना बनाउन आग्रह गरिएको छ।
तत्काल बाहिरिन नसक्नेहरूलाई घरभित्र वा सुरक्षित भवनमा बस्न, खाद्यान्न, पानी, औषधि तथा अत्यावश्यक सामग्री संकलन गर्न, प्रदर्शनबाट टाढा रहन र न्यून प्रोफाइल कायम गर्न भनिएको छ।
दूतावासले अमेरिकी–इरानी दोहोरो नागरिकतालाई इरानले मान्यता नदिने स्पष्ट गर्दै यस्ता नागरिकलाई इरानी नागरिककै रूपमा व्यवहार गरिने चेतावनी दिएको छ।
अमेरिकी पासपोर्ट देखाउनु वा अमेरिकासँग सम्बन्ध देखिँदा मात्रै पनि पक्राउ पर्न सक्ने चेतावनी दिएको छ।
हालको अवस्थाअनुसार आर्मेनिया र टर्कीसँगका प्रमुख स्थल नाका खुला रहेको जनाइएको छ।
तर तुर्कमेनिस्तान प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्ने तथा अजरबैजान हुँदै निस्कने प्रयास जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको छ।
अफगानिस्तान, इराक र पाकिस्तान–इरान सीमा क्षेत्रमा यात्रा नगर्न पनि अमेरिकाले आग्रह गरेको छ।
अमेरिका र इरानबीच कूटनीतिक तथा वाणिज्य दूतावास सम्बन्ध नरहेकाले इरानमा अमेरिकी हितको संरक्षण स्विट्जरल्यान्डको दूतावासमार्फत भइरहेको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी मामिलालाई नजिकबाट हेरिरहेको बताएका छन्।