नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुई महामन्त्री र संस्थापन पक्षबीच विभिन्न विकल्पको आदानप्रदान जारी छ।
सभापति शेरबहादुर देउवासँग आज बिहान उनको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षका नेताहरूबीच सहमतिको बाटो के के हुन सक्छ भन्नेबारे सन्देश आदानप्रदान भइरहेको स्रोतले बतायो।
स्रोतका अनुसार विशेष महाधिवेशन पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएको छ।
कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपामा छलफल गरिरहेका छन्।
सभापति देउवा पार्टीका सबै कामबाट अलग हुने र अबदेखि निर्वाचनका उम्मेदवारहरूको टिकट बाँड्ने लगायतका काममा आफ्नो हस्ताक्षर प्रयोग नगर्नेबारे लचिलो प्रवक्ता प्रकाशशरण महतले बताइसकेका छन्।
सहमतिको अन्तिम प्रयास चलिरहँदा विशेष महाधिवेशनअन्तर्गत चुनावमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान प्रक्रिया अघि बढाउने कार्यमा ढिलाइ भएको छ।
बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
त्यस्तै, महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ भने सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। लामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।
दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ।
त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ। नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।