नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी असहज स्थितितर्फ अघि बढेको बताएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताबारे ब्रिफिङ गर्दै कार्यवाहक सभापति खड्काले 'पार्टीको स्थिति असहज हुँदै गएको' बताएका हुन्।
'मैले महामन्त्रीहरूसँग सल्लाह गरेर नै पुसमा नियमित महाधिवेशन गर्ने भनेको हुँ। त्यसै अनुसार काम गर्दागर्दै पनि महाधिवेशनका लागि प्रक्रिया पूरा गर्न भ्याइएन,' कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'प्रक्रिया पूरा नहुनुमा महामन्त्रीहरू पनि जिम्मेवार हुनुहुन्छ। क्रियाशील सदस्यता नवीकरणको काम समयमा नसक्नुमा उहाँहरूका पनि गल्ती-कमजोरी छन्। उहाँहरू आफूबाट कुनै गल्ती नभएजस्तो विशेष महाधिवेशन गरेर अगाडि बढ्नुभयो।'
दुई महामन्त्रीले सहमतिको निम्ति प्रस्ताव गरेका 'अन्तिम विकल्प' बारे पनि खड्काले केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन्।
महामन्त्रीद्वयले पठाएका प्रस्तावमध्ये निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नामबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्नबाहेक अरू प्रस्ताव मान्न नसकिने उनको भनाइ छ।
उनले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टीका कामबाट निस्क्रिय रहने प्रस्ताव मान्न नसिकने केन्द्रीय समितिलाई बताएका छन्।
'हामीले एउटा प्रस्तावबाहेक अरू मान्न सकिँदैन भनेर जबाफ पठाइसकेका छौं,' केन्द्रीय समिति बैठकमा खड्काको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, 'यसमा के धारणा छ, छिटो जबाफ दिनुस् भनेका छौं।'
विशेष महाधिवेशन पक्षसँग चरणबद्ध रूपमा भएका छलफलका कारण बुधबार बिहान ८ बजेलाई डाकिएको केन्द्रीय समिति दिउँसो करिब ३ बजेतिर बसेको थियो।
यसअघि मंगलबार पनि पटक पटक बैठक सर्दै राति संक्षिप्त रूपमा मात्र छलफल भएको थियो।