नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित तीन जनालाई कारबाही गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि अनुशासन कारबाही गरेको हो।
यस अनुरूप यी तीनै जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने निष्कासन गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले 'अन्तिम विकल्प' का रूपमा पठाएका आठ बुँदे प्रस्ताव इन्कार गर्दै संस्थापन पक्षले कारबाहीमा अगाडि बढेको हो। संस्थापनले एउटाबाहेक अरू मान्न प्रस्ताव अस्वीकार गरेको थियो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नामबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्नबाहेक अरू प्रस्ताव मान्न नसकिने जबाफ पठाएका थिए। उनले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टीका कामबाट निस्क्रिय रहने प्रस्ताव मान्न नसिकने बताएका हुन्।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएका थिए।
शेरबहादुर देउवाले पार्टी नेतृत्वका रूपमा कुनै काम-कारबाही नगर्ने, संसदका उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर हुने, अर्को महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिसम्म पार्टीका मुख्य निर्णय गर्न चार-पाँच जना नेताको 'हाई कमान्ड' बनाउने र गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उनकै नेतृत्वमा आगामी चुनावमा जाने प्रस्ताव गरिएको थियो।
पार्टी हाई कमान्डमा रहने नामहरूमा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, वरिष्ठ नेता शेखर कोइराला लगायत रहने गरी मंगलबारदेखि छलफल चलिरहेको थियो।
हाई कमान्डले अर्को महाधिवेशन नभएसम्म पार्टीका नियमित गतिविधि सञ्चालन गर्नुका साथै आवश्यक निर्णयहरू लिने प्रस्ताव गरिएको हो। कांग्रेसको १५औं महाधिवशेन वैशाखमा गर्ने तय भएको छ।
तर संस्थापन पक्षले यी प्रस्तावमा सहमति जनाउन अस्वीकार गर्दै बिहानदेखि रोकिएको केन्द्रीय समिति बैठक अघि बढायो। त्यही बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको हो।
यसबीच विशेष महाधिवेशनअन्तर्गत बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
त्यस्तै, महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ भने सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। लामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।
दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ।
त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ। नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।