नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिले महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारबाही विशेष महाधिवेशनले खारेज गर्ने बताएका छन्।
‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विघठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रूपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौं भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गर्दछ,’ उनले फेसबुकमा लेखेका छन्।
उक्त निर्णय अनधिकृत भएको पनि सिवाकोटीले बताएका छन्।
कारबाहीलाई अतिवादी सोचबाट प्रेरित भन्दै उनले कसैलाई विचलित नहुन आग्रह गरेका छन्।
‘यो पनि स्पष्ट गर्न चाहन्छौं कि विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो। र, आधिकारिक रहनेछ,’ उनले भने।