पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका महामन्त्री गगन थापाले नेपाली कांग्रेस अहिले पनि नफुटेको र विशेष महाधिवेशन गरिरहेको समूह नै 'सच्चा कांग्रेस' भएको बताएका छन्।
उनले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै थापाले भने, 'यो पार्टी फुटेको छैन। यही हो पार्टी। नेपाली कांग्रेस पार्टी अहिले अधिवेशनको क्रममा छ। आज बेलुकी यसको अधिवेशनको अध्याय सकिन्छ। यो अधिवेशनले जे निर्णय गर्छ, त्यो निर्णयले पार्टी अघि बढाउँछ।'
उनले अगाडि भने, 'तपाईंहरू यहाँबाट आफ्नो घर फर्किनुहुन्छ, गाउँ फर्किनुहुन्छ। तपाईंहरूलाई सबैले प्रश्न सोध्ने छन्। तपाईंहरूले काठमाडौंमा भएको गगन र विश्व सहभागी विशेष महाधिवेशनमा गएर आएको थिएँ भन्दा एक जनाको शिर निहुरिँदैन।'
थापाले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम नेतृत्व छानेर जाऊँ भन्दा पनि सहमति हुन नसकेको बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवासँग बिहान भएको वार्ताबारे जानकारी दिँदै उनले भने, 'विशेष महाधिवेनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौं, जसलाई छाने पनि हुन्छ भन्दा पनि उहाँहरू मान्नुभएन।'
'हामीले सभापतिज्यूलाई यति मात्र भन्यौं — दाइ, केवल यति टेक्ने ठाउँ दिनुस्, ताकि फागुन २१ गते चुनावमा जाँदै गर्दा नेपाली कांग्रेसले विगतका धेरै कुरा बिसाएर नयाँ भएर आएको छ भन्न पाइयोस्, योभन्दा बढी अरू केही चाहिएको छैन,' गगनले भने, 'कांग्रेसले चुनावमा जाँदा कम्तिमा आफ्नो अनुहार त फेरोस्, हामी भदौ २३ भन्दा अगाडिको जस्तो कांग्रेस होइनौं भनेर त जाऊँ भन्दा पनि उहाँहरू मान्नुभएन।'
सामूहिक नेतृत्व छानौं भनेर प्रस्ताव गर्दा पनि सहमति नभएको उनले बताए।