राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट टासी ल्हाजोमले आफूमाथि लगाइएका आरोपको प्रमाण देखाउन चुनौती दिएकी छन्।
बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको विषय सार्वजनिक भएको थियो। आदीवासी जनजाति क्लस्टरमा उनको नाम थियो।
‘मैले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको छैन र फिर्ता हुने प्रक्रियामा सहभागी पनि भएको छैन। मैले बारम्बार भन्दै आएकी छु। म तिब्बती नागरिक होइन। म फ्रि तिब्बतको अभियानमा कुनै पनि तवरमा संलग्न भएकी छैन। मेरा प्रेमी तिब्बती होइनन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
त्यस्तै उनले आफूविरूद्ध आरोप लागे जसरी तिब्बतसँग संलग्न कुनै पनि प्रमाण भए देखाउन चुनौतीसमेत दिएकी छन्।
‘जोकोहीले म र मेरो कुनै पनि यस्ता गतिविधिमा संलग्न भएको प्रमाण भए देखाउन अनुरोध गर्छु,’ उनले लेखेकी छन्, ‘आरोप लगाउनेलाई म चुनौती दिन चाहन्छु प्रमाण सार्वजनिक गर।’
त्यसैगरी सार्वभौम देशको नागरिक भएको हिसाबले आफूसँग चुनाव सामनुपातिक वा प्रत्यक्ष दुवै हिसाबले लड्न पाउने पनि बताइन्। आफ्नो संवैधानिक अधिकारको हनन गर्नेविरूद्ध कानुनी कारबाही अघि बढाउने पनि बताइन्।
यसअघि रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफल गरी नाम फिर्ता लिएको बताएका थिए।
‘उहाँले आफै नाम फिर्ता लिनुभएको हो। म तत्काल सांसद बन्दिनँ। समुदायका लागि काम गर्छु। आयोग, नियोगतिर काम गर्छु भन्नुभयो,’ प्रवक्ता झाले भने, ‘सल्लाह गरेरै नाम फिर्ता लिनुभएको हो।’
यसबारे हामीले टासी ल्हाजोमलाई पनि सोधेका थियौं।
उनले नेतृत्वले आफूसँग कुनै सल्लाह नगरेको बताइन्। यसबारे आफूलाई थाहा नभएको भन्दै उपसभापति डिपी अर्याललाई (डोलप्रसाद) लाई सोध्न आग्रह गरिन्।
‘मलाई समानुपातिक सूचीबाट हटाइएको हो भने यसबारे डिपी अर्यालसँग कुरा गर्नुहोस् न है। मलाई सोधिएको छैन। मसँग कुरा पनि भएको होइन,’ उनले सेतोपाटीसँग भनिन्।