नेपाली कांग्रेसको नेतृत्व चयनको चुनावमा विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबाट नाम फिर्ता लिएका छन्।
महामन्त्रीमा गुरूराज घिमिरेलाई राख्न आफ्नो नाम फिर्ता लिएको शर्माले बताएका छन्।
शर्माले नाम फिर्ता लिएपछि दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
महामन्त्रीमा नाम फिर्ता लिएर उनी कुन पदबाट उम्मेदवारी दिँदै छन् भन्ने टुंगो लागिसकेको छैन।
त्यस्तै, दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ। उनी यसअघि सहमहामन्त्री थिए।
सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।
कांग्रेसमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ। त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ।
नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले सबै पदमा उम्मेदवारी परेको जानकारी दिए। सबै उम्मेदवारको सूची केही बेरमै सार्वजनिक गरिँदैछ।