राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काठमाडौं महानगरपालिका मेयर बालेन शाहले डेलिभरी मोडलबारे छलफल थालेका छन्। मेयर बालेन शाह केही दिनमै पदबाट राजीनामा दिएर राजनीतिमा होमिने तयारीमा छन्। रास्वपाले उनी आगामी प्रधानमन्त्री ‘प्रोजेक्ट’ गरिसकेको छ।
फागुन २१ गते हुने चुनावमा आम नागरिकका बीचमा लैजाने गरी उनीहरूले डेलिभरी मोडलबारे छलफल थालेका हुन्।
‘आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको डेलिभरी मोडललगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी छ,’ डा. वाग्लेले लेखेका छन्।
माघ ५ गते सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरू मधेस जाँदैछन्। जनकपुरमा हुने कार्यक्रममा बालेन शाहसहित उनीहरू जान लागेका हुन्। शाहको यो पहिलो राजनीतिक कार्यक्रम पनि हुनेछ।
‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट, निकास फागुन २१ को निर्वाचनबाट,’ वाग्लेले भनेका छन्।