विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएका गगन थापाले पार्टी परिवारवाद र गुटबाट मुक्त भएको बताएका छन्।
सभापति चयन भएपछि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले को कुन गुटबाट आएको भन्ने कांग्रेसले अब नचिन्ने बताएका हुन्।
'अब नेपाली कांग्रेस सबै खालको परिवारवादबाट मुक्त भयो। नेपाली कांग्रेस पार्टी सबै खालको गुटबाट पनि मुक्त भयो। आजबाट कांग्रेसमा कोही ६० पनि छैन, कोही ४० पनि छैन। हामी सबै एउटै हो। को कुनबाट आएको भन्ने कसैले कसैलाई चिन्दैन। सकियो गुट, मासियो गुट,' उनले भने।
उनले गुट मासिनुपर्ने तमाम कांग्रेसीहरूको लामो समयदेखिको चाहना विशेष महाधिवेशनले पूरा गरेको बताए।
उनले कांग्रेसको विशेष महाधिवेशन नेपाली राजनीतिको नयाँ अध्याय प्रारम्भ भएको उद्घोष पनि गरे।
'यो सामान्य कुरा होइन। चाहे नयाँ होस् चाहे पुरानो पार्टी होस्। सबै पार्टीभित्र बोस हुनुहुन्छ। बोसहरूको शासन चल्छ। जुन पार्टीभित्र त्यहाँका सदस्यहरू चाउरिएका हुन्छन्। मरेतुल्य हुन्छन्। जो आफै हेपिएर बसेका हुन्छन्, प्रश्नहरू मरेका हुन्छन्, न्यायको बिगुल बजेको हुँदैन त्यो पार्टीले बाहिर गएर न्याय गर्न सक्दैन,' उनले भने।
सभापति थापाले शुक्रबार तत्काल नै विशेष महाधिवेनलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने जानकारी दिए ।
'छोटो समयभित्र निर्वाचन आयोगले नेपाली कांग्रेस विशेष महाधिवेशनबाट भएको निर्णयलाई अद्यावधिक गर्छ। अद्यावधिक गरेसँगै कांग्रेसभित्र अहिले देखिएको द्विविधाहरू सकिन्छन्। सिंगो कांग्रेसलाई एकढिक्का बनाएर पूर्व पार्टी सभापतिको लस्करमा शेरबहादुर दाइलाई पनि राखेर हामी अगाडि बढ्छौं,' उनले भने।