विशेष महाधिवेशनबाट कांग्रेस सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले परीक्षण गर्न खोजे अधिकांश क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिने दाबी गरेका छन्।
सभापति चयन भएपछि भृकुटीमण्डपमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले पार्टी सदस्यहरू कता उभिएका छन् भनेर निर्वाचन आयोगले हेर्न खोजे ९ लाख ८० हजार क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिने दाबी गरेका हुन्।
'विशेष महाधिवेशनभन्दा ठूलो विधानले अरू कुनै ठूलो संरचना भनेको छैन। पार्टीको सदस्य कतापटि उभिएका छन् भनेर नै हेर्ने हो भने पुरानो र नयाँ गरेर १० लाख क्रियाशील सदस्य छ,' उनले भने, 'धेरै भन्दिनँ; निर्वाचन आयोगले हेरौं भनेका दिन, नेपाली कांग्रेसले आह्वान गरेको बेलामा १० लाखमध्ये ९ लाख ८० हजार क्रियाशील सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेला भनौंला।'
त्यसकारण निर्वाचन आयोगले कानुन, विधान र भृकुटीमण्डपको उपस्थितिलाई लिएर निर्णय गर्ने कुरामा विश्वस्त रहेको उनले बताए।
'हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठूलो विश्वास छ। निर्वाचन आयोग नेपालको प्रचलित कानुनलाई हेर्छ, विधानलाई हेर्छ, यहाँभित्रको उपस्थितिलाई हेर्छ,' उनले भने।