नेकपा एमालेले आगामी फागुन पहिलो साताभित्रमा घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ।
एमालेले घोषणा पत्र बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको छ।
घोषणा पत्र लेखन समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त, ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल छन्।
उक्त समितिले अहिले विषयविज्ञहरूसँग नियमित छलफल गरिरहेको छ। विज्ञहरूको सुझावलाई एकत्रित गर्दै घोषणा पत्रको अंग बनाउने काम भइरहेको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए। एमालेले यसपटक घोषणा पत्रमा महत्त्वाकांक्षी कुराहरू नराख्ने शाहीले बताए।
‘यसपटक हामीले पाँच वर्षभित्र जे–जे कुराहरू पूरा गर्न सकिन्छ, तिनै कुराहरू समेटेर घोषणा पत्रलाई अन्तिम रूप दिन्छौं,’ शाहीले सेतोपाटीसँग भने, ‘पाँच वर्षभित्र पूरा गर्न नसकिने अधिक महत्त्वाकांक्षी कुराहरू राख्दैनौं।’
एमालेले घोषणा पत्रमा आधारभूत रूपमा पूर्वाधार निर्माण, आर्थिक विकास, समृद्धिको आगामी मार्गचित्र, सामाजिक सुरक्षा, कृषि क्षेत्रको उन्नयन र समयानुकूल विकास, रोजगारी सिर्जना, आय विस्तार, ऊर्जा–जलस्रोतमार्फत् मुलुकको सामर्थ्य वृद्धि, राजनीतिक स्थायित्व, मर्यादित रोजगारी, युवा उद्यमशीलता, जेनजी आन्दोलनको भावना समुचित सम्बोधन लगायत विषय समेट्ने तयारी गरेको छ।
यसका अतिरिक्त केही सम्झौताहीन विषय रहेको शाहीले बताए।
उनकाअनुसार सामाजिक न्यायसहितको लोकतन्त्र, समन्यायिक विकास, सकारात्मक विभेद, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको संरक्षण र परिपालना घोषणा पत्रमा समेटिनेछन्।
‘२०४८ सालयता मुलुकले हासिल गरेका उपलब्धीहरूको सुदृढीकरण, त्यसको दिगोपना, पेसागत समृद्धि आदि छुटाउने छैनौं,’ उनले भने, ‘बढ्दो असमानता, गरिबीलाई प्रगतिशील कानुनमार्फत् कम गर्ने प्रतिबद्धता जनाउँछौं। यसका अतिरिक्त सामाजिक क्षेत्रको बृहत्तर विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षामा लगानीवृद्धितर्फ पनि हाम्रो ध्यान रहनेछ।’
लोक कल्याणकाली राज्यको अवधारणालाई अझ मूर्त रूप दिँदै सामाजिक सुरक्षाको दायरावृद्धि, यसबाट अझ बढी लाभान्वित हुन पाउने अवस्थाको सिर्जना गर्नेतर्फ पनि एमालेको ध्यान रहेको शाहीले बताए।
‘राज्यका अंगहरूको संस्थागत क्षमतावृद्धि, सुरक्षा अंगको मजबुतीकरण, फ्रन्टलाइनमा खटिनेहरूको आत्मबल उँचो राख्न राज्यले दिनुपर्ने सेवा–सुविधा र सम्मान बढाउनेतर्फ पनि हाम्रो ध्यान जाने छ,’ शाहीले भने, ‘फ्रन्टलाइनमा खटिनेहरूको आत्मसम्मानमा किञ्चित पनि कमी हुन नदिने हाम्रो प्रतिबद्धता रहनेछ।’
एमालेले घोषणा पत्रमार्फत् नवपुस्ताहरूको भावनाको पनि सम्बोधन गर्ने भएको छ। यसबारे ठोस योजना ल्याइने पनि शाहीले बताएका छन्।
यो पनि: यस्तो नहोस् अबको एमालेको घोषणापत्र