राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीलाई पार्टी सभापति रवि लामिछानेले गलत काम गर्ने सांसदहरूलाई फिर्ता गर्ने (राइट टू रिकल) बाचा गरेकोमा खुसी लागेको छ।
पहिलो पटक प्रतिनिधिसभा सांसद बनेका रहबरले यसलाई जनताको म्यान्डेटको 'इन्स्युरेन्स' का रूपमा बुझेका छन्।
'तपाईंले एउटा गाडी किन्नुभयो र चलाउँदा दुर्घटना भयो भने त्यसको खर्च कसले बेहोर्छ?' रहबर प्रश्न गर्दै भन्छन्, 'आफै बेहोर्नुपर्छ। तर बीमा गरियो भने बीमाले बेहोर्छ।'
उनले अगाडि भने, 'रास्वपाले जनताले दिएको म्यान्डेटलाई राइट टू रिकलमार्फत बीमा गरिदिएको छ। कुनै जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएन र जनताले दिएको म्यान्डेट अनुसार काम गरेन भने राइट टू रिकलमार्फत फिर्ता बोलाउनुपर्छ। यो जनताको म्यान्डेटको इन्स्युरेन्स हो।'
सांसदहरू फिर्ता बोलाउने व्यवस्था गर्दा इमानदार जनप्रतिनिधि र प्रश्न सोध्ने सांसदहरूलाई भने फिर्ता गर्न नहुने उनको तर्क छ।
'यस्तो निर्णय सामूहिक रूपमा गरिनुपर्छ,' रहबर भन्छन्, 'एक जनाले बोलाइदिऊँ भनेर हुँदैन।'
रहबर यसपालि प्रतिनिधिसभा निर्वाचनमा उठ्नुअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मधेस प्रदेशसभामा सांसद थिए। तर निर्वाचनको ठिकअघि उनले पार्टी छाडे।
२०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वीरगन्ज महानगरको मेयरका उम्मेदवार बनेका रहबर २०७९ मा प्रदेशसभा सांसद भएका थिए। निर्वाचनको ठिकअघि पार्टी छाडेका उनलाई कतिपयले अवसरवादीका रूपमा टिप्पणी समेत गरेका छन्।
सेतोपाटी पडकास्ट 'द न्यू गार्ड' मा रहबरले नेपालको राजनीतिमा 'माओवादी जतिको अवसरवादी शक्ति अरू नभएको' टिप्पणी गरेका छन्।
'नेकपा माओवादी केन्द्रले जति अवसरवादी चरित्र अरू कसैले देखाएन। कुनै समय जनताले पत्याएर म्यान्डेट दिएको हो,' रहबरले भने, 'तर जुनसुकै समय, जहाँ पनि, जोसँग पनि मिलेर सम्पूर्ण एजेन्डा थाती राखेर सरकारमा आउने होडबाजीभन्दा मेरो अवसरवाद निकै कमजोर र कम हो।'
रहबर आफूलाई राजनीतिक स्टार्ट दिने प्रचण्डप्रति भने सकारात्मक छन्।
'२०७४ सालमा माओवादीले मेयरको टिकट दिएर प्रचण्डले मेरो राजनीतिक यात्रामा स्टार्ट दिनुभयो। गाइड गर्नुभयो,' रहबरले भने, 'तर म जनतालाई भन्दा पहिले बेथिति सुल्झाउने र विकृतिबाट टाढा रहने आफैसँग बाचा गरेर राजनीतिमा आएको हुँ। पारिवारिक लाभभन्दा जनताको लाभ र उच्चतम न्यायका लागि राजनीतिमा आएको हुँ।'
रहबर अघिल्ला निर्वाचनबाट आएका सांसद र अहिलेका सांसदहरूबीच आफूले फरक देखेको बताउँछन्।
'पहिला सांसदहरू पद पाएपछि के–कस्ता सेवा–सुविधा छन् भनेर खोजीमा डुबेका भेट्थेँ,' रहबर भन्छन्, 'अहिलेका सांसदहरूले त्यस्तो मतलब राखेको देख्दिनँ। अहिले सांसदहरू बौद्धिक विमर्श (इन्टेलेक्चुअल डिस्कसन) मा छन्।'
रहबर अहिलेसम्म नेपालको पहिचानका रूपमा गौतम बुद्ध र सगरमाथा रहेको भए पनि अब नयाँ पहिचान बनाउन काम गर्नुपर्ने बताउँछन्। त्यसका लागि नेपालले जलवायु परिवर्तन र वातावरणीय विषयलाई प्राथमिकता दिनुपर्ने उनको बुझाइ छ।
रहबर निर्वाचनपछि पनि पटक पटक निर्वाचन क्षेत्रमा पुगेका छन्।
'म यसरी निर्वाचन क्षेत्रमा जाँदा कसैलाई नबोलाई सडक किनारामा सर्वसाधारणसँग कुरा गर्छु। जनतासँग सिधा कुरा गर्छु,' रहबर भन्छन्, 'न त मलाई गाली गर्छन् भन्ने डर छ, न आक्रमण गर्छन् भन्ने डर छ। म सके त्यही ठाउँबाट समाधान दिने कोसिस गर्छु, नभए टिपोट गरेर पहल गर्छु।'
उनी भन्छन्, 'पहिलेका नेताहरूले जनताभन्दा कार्यकर्ता र 'मिडिल म्यान' सँग कुरा गर्ने गरेका थिए।' आफूले भने जनतासँगै कुरा गर्ने रहबरको दाबी छ।
हेर्नुहोस् रास्वपाबाट निर्वाचित सांसद रहबर अन्सारीसँगको भिडिओ कुराकानी —