अमेरिकासँग वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको छ।
तेहरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागची, सुरक्षा परिषद सदस्य अली अकबर, केन्द्रीय बैंकका गभर्नर अब्दुलनसिर हेमाती तथा सुरक्षा, राजनीतिक, सैन्य, आर्थिक र कानुनी क्षेत्रका अधिकारीहरू सहभागी रहेको इरानी सरकारी समाचार संस्था तास्निमले जनाएको छ।
तास्निमका अनुसार इरानी प्रतिनिधिमण्डल ७१ सदस्यीय छ।
उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल भने पुगिसकेको छैन। उनीहरू यात्रामै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानले सीमानादेखि नै आकाशमा फाइटर जेटमार्फत उच्चस्तरीय सुरक्षा प्रदान गरेको बताइएको छ।
फाइनान्सियल एक्सप्रेसका अनुसार पाकिस्तानले इरानी अधिकारीहरू बोकेको विमानलाई सशक्त सुरक्षा एस्कर्ट दिन एफ–१६ र जेएफ–१७ थन्डर जेटसहितको ‘फुल–स्पेक्ट्रम एयर शिल्ड’ तैनाथ गरेको थियो।
रिपोर्टअनुसार यी जेटहरू इरानको बन्दर अब्बास नजिकै देखिएका थिए र इस्लामाबादसम्म करिब तीन घण्टाको उडान अवधिभर सुरक्षा प्रदान गरिएको थियो।
यससँगै पाकिस्तान वायुसेनाले आकाशमा लामो समय रहन मिल्ने गरी आईएल–७८ रिफ्युलिङ ट्यांकर र सी–१३० हरक्युलस विमानसमेत परिचालन गरेको जनाइएको छ।
फ्लाइट ट्र्याकिङ डाटाले यूएई र साउदी अरब नजिकसमेत पाकिस्तानी सैन्य गतिविधि देखाएको बताइएको छ।
पाकिस्तानी सञ्चारमाध्यम द एक्सप्रेस ट्रिब्यूनले पनि इरानी टोलीलाई पाकिस्तान वायुसेनाका जेएफ-१७ थण्डर र एफ-१६ जेटहरूले सुरक्षा दिएको समाचार लेखेको छ।
सैन्य ट्र्याकिङ रिपोर्टहरूलाई उद्धृत गर्दै टर्कीको इल्के न्यूज एजेन्सीले जनाएअनुसार इरानको बन्दर अब्बास क्षेत्रबाटै पाकिस्तानी जेटहरूले इरानी विमानलाई आफ्नो सुरक्षा घेरामा लिएर इस्लामावादसम्म पुर्याएका थिए।
युएईको अनलाइन द नेशनलले पनि इस्लामाबादमा हुने उच्चस्तरीय वार्तालाई लक्षित गर्दै इरानी प्रतिनिधिमण्डलको विमानलाई पाकिस्तानी वायुसेनाले एस्कर्ट गर्ने तयारी गरिएको थियो भनेर समाचार लेखेको छ।
वार्ता हुने भएपछि पाकिस्तानले राजधानीमा कडा सुरक्षा व्यवस्था, ‘रेड जोन’ घोषणा र दुई दिन सार्वजनिक बिदासमेत दिएको छ।