इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धको पहिलो दिनमै गम्भीर घाइते भएको खुलेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलामा परी खामेनी गम्भीर घाइते भएको इरानी अधिकारीहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकी र इसराइली आक्रमणमा परी अली खामेनीसहित थुप्रै उच्च अधिकारी मारिएका थिए। आक्रमणमा उनका परिवारका सदस्यहरू पनि मारिएका थिए। मोज्तबा अली खामेनीका छोरा हुन्।
खामेनीको हत्या भएको दस दिनपछि मोज्तबा इरानको सर्वोच्च नेता चयन भएका थिए। तर युद्ध चर्किएर वार्तासम्म आइपुग्दासम्म नयाँ सर्वोच्च नेता न कतै देखिएका छन् न कुनै अडिओ/भिडिओ सन्देश सार्वजनिक भएको छ।
पाकिस्तानमा अमेरिका-इरान वार्ता सुरू हुनै लाग्दा मोज्तबा भने सुरूवाती हमलामै गम्भीर घाइते भएको र अझै उपचारमै रहेको खुलेको हो।
उनका अनुहार र खुट्टामा गम्भीर चोट लागेको र अनुहारमा विकृति आएको मोज्तबानिकट तीन जनालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
५६ वर्षीय खामेनीको स्वास्थ्य अवस्था गम्भीर भए पनि उनी मानसिक रूपमा सक्षम रहेको र अडियो कन्फरेन्समार्फत वरिष्ठ अधिकारीहरूसँग बैठकमा सहभागी भइरहेको स्रोतहरूलाई उद्धृत गरी रोयटर्सले लेखेको छ।
उनी युद्ध र अमेरिकासँगको वार्ताजस्ता महत्वपूर्ण निर्णय प्रक्रियामा पनि अप्रत्यक्ष रूपमा संलग्न रहेको पनि बताइएको छ। इरानले पनि उनको चोटपटकबारे आधिकारिक विवरण दिएको छैन।
तर सरकारी टेलिभिजनले उनलाई 'जनबाज' अर्थात् युद्धमा गम्भीर घाइते भएको व्यक्तिको रूपमा वर्णन गरेको थियो।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि खामेनी गम्भीर घाइते भएको बताएका थिए। केही गुप्तचर स्रोतहरूले त उनको एक खुट्टा गुमेको हुन सक्ने अनुमान पनि गरेका छन्।
विश्लेषकहरूले खामेनीलाई आफ्ना पिताजस्तै सत्तामा पूर्ण नियन्त्रण स्थापित गर्न समय लाग्न सक्ने बताएका छन्।
'मोज्तबा एक आवाज त हुनेछन्, तर निर्णायक आवाज बन्न अझै समय लाग्छ,' विश्लेषक एलेक्स भटंकले भनेका छन्।
इरानको शासन प्रणालीमा सर्वोच्च नेता नै सबैभन्दा शक्तिशाली पद हो, जसले सेना, विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) जस्ता शक्तिशाली निकायलाई प्रत्यक्ष नियन्त्रण गर्छ।
खामेनीको अनुपस्थितिले सामाजिक सञ्जालमा व्यापक चर्चा र अड्कलबाजी बढाएको छ। 'मोज्तबा कहाँ छन्? भनेर उल्लेख गरिएका मिमहरू समेत भाइरल भइरहेका छन्। उनका समर्थकहरूले सुरक्षा जोखिमका कारण सार्वजनिक रूपमा नदेखिनुलाई उचित भएको बताएका छन्।
स्रोतहरूले आगामी एक–दुई महिनाभित्र खामेनीका तस्बिर वा सार्वजनिक उपस्थितिको सम्भावना रहेको बताएका छन्। तर त्यो उनको स्वास्थ्य र सुरक्षा अवस्थाले निर्धारण गर्ने भनिएको छ।
मोज्तबा सर्वोच्च नेता चयन भएपछि उनी घाइते भएका कारण सर्वोच्च सुरक्षा परिषदका सचिव अलि लरिजानीले शासन चलाएका थिए। लरिजानी पनि हमलामा मारिएपछि गालिबाफ अहिले इरानको सबभन्दा शक्तिशाली अधिकारी रहेको मानिन्छ।
घालिबाफ नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकासँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामावाद आइपुगिसकेका छन्।