अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा रातभरि वार्ता भएको छ।
इस्लामावादको होटल सेरेनामा शनिबार दिउँसोदेखि सुरू भएको त्रिपक्षीय वार्ता आइतबार बिहान ५ बजेसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वार्ता विभिन्न चरणमा भएका थिए। वार्तापछि दुवै पक्षले प्राविधिक टोलीमार्फत लिखित दस्तावेज आदानप्रदान गरेका थिए।
दस्तावेजहरूमा के के कुरा उल्लेख छ भन्ने सार्वजनिक भइसकेको छैन।
सन् १९७९ को इस्लामिक क्रान्तिका दौरान तेहरानस्थित अमेरिकी दूतावास कब्जा र अमेरिकी नागरिकहरूलाई बन्धक बनाएको घटनापछि यी दुई कट्टर प्रतिद्वन्द्वी मुलुकबीच ४७ वर्षमा भएको यो नै पहिलो आधिकारिक र प्रत्यक्ष वार्ता हो।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने भने विशेष दूत स्टिभ विटकफ र डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर पनि सहभागी छन्।
इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची वार्तामा सहभागी भएका थिए।
इरानको सरकारी टेलिभिजनले केही मतभेद भए पनि वार्ता जारी रहने बताएको भनेर अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ। त्यसले आइतबार बिहान पुनः वार्ता सुरू हुने संकेत गरेको छ।
वार्ताको मुख्य अड्चन स्ट्रेट अफ हर्मुजको नियन्त्रणको विषय बनेको छ।
इरानले हर्मुजमा नियन्त्रण, विदेशी बैंकमा रोक्का राखिएको सम्पत्ति फुकुवा, युद्ध क्षतिपूर्ति र लेबननसहित क्षेत्रीय युद्धविरामको माग अघि सारेको छ। साथै, हर्मुजबाट गुज्रिने जहाजबाट शुल्क उठाउने प्रस्ताव पनि राखेको छ। तर अमेरिकी पक्षले भने विश्वव्यापी जलयातायात निर्बाध सञ्चालन र इरानको आणविक कार्यक्रम सीमित बनाउने न्यूनतम शर्त अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
वार्ताको सुरुवातसँगै अमेरिकी सेनाले हर्मुज क्षेत्रमा बारुदी सुरुङ हटाउने तयारी थालेको जनाएको थियो र आफ्ना दुई युद्धपोत उक्त क्षेत्रमा पुगेको बताएको छ। तर इरानले भने अमेरिकी जहाज प्रवेश गरेको दाबी अस्वीकार गरेको छ।
वार्ताको वातावरण पनि उतारचढावपूर्ण रहेको पाकिस्तानी स्रोतले बताएका छन्।
'बैठकमा कहिले तनाव बढ्ने, कहिले घट्ने अवस्था देखियो,' एक स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ।
युद्धमा मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित अन्यको शोकमा इरानी प्रतिनिधिमण्डल कालो पोशाकमा इस्लामाबाद पुगेको थियो। उनीहरूले अमेरिकी आक्रमणमा ज्यान गुमाएका विद्यार्थीहरूको प्रतीकस्वरूप जुत्ता र झोला समेत साथमा ल्याएका थिए। उक्त आक्रमणबारे पेन्टागनले छानबिन भइरहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वार्ताको नतिजाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
दुई हप्ताका लागि भएको अस्थायी युद्धविरामको भविष्य पनि यही वार्ताको नतिजामा निर्भर रहने देखिएको छ।
वार्तास्थल इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। दुई करोडभन्दा बढी जनसंख्या भएको सहरका सडकमा हजारौं अर्धसैनिक र सेना परिचालन गरिएको थियो।
एक वर्षअघिसम्म कूटनीतिक रूपमा अलग्गिएको अवस्थामा रहेको पाकिस्तानका लागि यो मध्यस्थता भूमिका अन्तर्राष्ट्रिय स्तरमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।
वार्ताबारे अमेरिकी उपराष्ट्रपति भान्सले केही बेरमा पत्रकार सम्मेलन राख्ने तयारी रहेको न्युयोर्क टाइम्सले जनाएको छ।