इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौताबेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति भान्स चढ्ने एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने क्रममा रहेको जनाएको छ।
इस्लामावाद छाड्नुअघि उनले होटल सेरेनामै पत्रकारहरूलाई संक्षिप्त ब्रिफिङ गर्दै वार्तामा कुनै सम्झौता नभएको बताएका थिए।
उनले इरानीहरू अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताए। यद्यपि कुन-कुन प्रस्ताव स्वीकार गर्न इरान तयार नभएको हो भन्ने चाहिँ उनले खुलाएनन्। शर्तहरूमा अमेरिका अहिलेसम्म लचिलो भएको उनको दाबी थियो।
'हामीले आफ्ना ‘रेड लाइन’हरू स्पष्ट रूपमा राख्यौं, केमा लचिलो हुन सक्छौं र केमा सक्दैनौं भन्ने पनि भन्यौं, तर उनीहरूले ती सर्त स्वीकार गरेनन्,' भान्सले भने।
यद्यपि वार्तालाई पूर्ण रूपमा असफल भएको भएको घोषणा भने उनले गरेनन्। 'हामी यहाँबाट एकदमै स्पष्ट प्रस्ताव छाडेर जाँदै छं। यो हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो, अब इरानले स्वीकार गर्छ कि गर्दैन हेर्नेछौं,' उनले भने।
उनले वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कैयौंपटक फोनमा कुराकानी गरेका थिए।
वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर सहभागी थिए। इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची सहभागी भएका थिए।