इस्लामावाद वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी सुरू गर्ने भएको छ।
सोमबारदेखि नै लागु हुनेगरी अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको हो।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले आइतबार वक्तव्य जारी गरी अमेरिकी समयअनुसार सोमबार बिहानदेखि लागू हुनेगरी इरानी बन्दरगाहमा जाने र त्यहाँबाट फर्कने सबै देशका जहाजमा नाकाबन्दी लगाउने घोषणा गरेको हो।
स्ट्रेट अफ हर्मुज हुँदै अन्य देशमा जाने समुद्री जहाजहरूलाई भने अवरोध नगरिने सेन्टकमलाई उद्धृत गरी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी सेनाको घोषणासँगै इरानी बन्दरगाहतर्फ जाँदै गरेका केही जहाजहरू रोकिएको रोयटर्सले जनाएको छ।
इरानी पोर्टतर्फ जान लागेका जहाजहरूलाई अमेरिकी नौसेनाले निगरानी राख्नेछ। यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्ने पनि सेन्टकमले बताएको छ।
इरानले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण हुने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने प्रस्ताव राखेको थियो। यसबारेमा इस्लामावाद वार्तामा समझदारी नभएपछि अमेरिकाले इरानलाई अप्रत्यक्ष रूपमा नाकाबन्दी लगाउन खोजेको हो।
यसले युद्धविराम नै संकटमा परेको रोयटर्सले जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शुल्क तिर्ने जुनसुकै देशका जहाज भए पनि रोक्ने चेतावनी दिएका थिए। 'अवैध शुल्क तिर्ने कुनै पनि जहाज सुरक्षित रूपमा यात्रा गर्न पाउने छैनन्,' उनले भनेका छन्।
ट्रम्पले अमेरिकी नौसेनाले हर्मुजमा इरानले बनाएको बारूदी सुरूङ हटाउने अभियान सुरू गर्ने पनि बताएको छ। विश्वका २० प्रतिशतभन्दा बढी तेल र ग्यास पैठारी हर्मुजबाटै हुने भएकाले यसको सुरक्षा संवेदनशील मानिन्छ।
अमेरिकाको घोषणापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले हर्मुज क्षेत्रमा आउने कुनै पनि अमेरिकी सैन्य जहाज आए त्यसलाई युद्धविरामको उल्लंघन मानिने चेतावनी दिएको छ।
आइआरजिसीका सैन्य सल्लाहकार मोहसेन रेजाइलले हर्मुजमा नाकाबन्दी विरूद्ध इरानसँग अझै शक्तिशाली विकल्प रहेको बताएका छन्।
'हामीसँग अझै शक्तिशाली विकल्प छन्। सामाजिक सञ्जाल वा कागजी धम्कीले हामी झुक्दैनौं,' उनले भनेका छन्।
आइआरजिसीले स्ट्रेट अफ हर्मुज अझै इरानको पूर्ण नियन्त्रणमा रहेको र गैरसैनिक जहाजहरूलाई आवागमनमा कुनै बाधा नपुर्याइएको बताएको छ।
'तर सैन्य जहाज आए त्यसको बलियो प्रतिक्रिया दिनेछौं,' आइआरजिसीले भनेको छ।
सभामुख बागेर गालीबाफले इस्लामावाद वार्ता विफल भई इरान फर्केपछि ट्रम्प लड्न चाहन्छन् भने आफू पनि पछि नहट्ने बताएका थिए।
गालीबाफ इस्लामावाद वार्तामा इरानको नेतृत्व गरेर पुगेका थिए। त्यहाँ उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग २१ घन्टा वार्ता भए पनि सहमति भने हुन सकेन।
वार्तामा मुख्य दुई विषयमा सहमति नजुटेको एपीले जनाएको छ। पहिलो, हर्मुज जलमार्ग र दोस्रो इरानको आणविक कार्यक्रम।
अमेरिकाले इरानलाई युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्न, प्रमुख संरचना हटाउन र उच्च संवर्धित सामग्री हस्तान्तरण गर्न आग्रह गरेको थियो।
साथै हमास, हिजबुल्लाह र हुथीलाई दिँदै आएको समर्थन रोक्न पनि माग गरिएको थियो, जसलाई इरानले अस्वीकार गरेको बताइएको छ।
वार्ता असफल भएपछि सोमबार तेल र अमेरिकी डलरको मूल्य बढेको छ भने एसियाली शेयर बजारमा गिरावट देखिएको छ। तेल बोकेका जहाजहरू हर्मुज जलमार्गबाट टाढा रहन थालेका छन्।
ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि चुनावसम्म इन्धन मूल्य उच्च रहन सक्ने संकेत दिएका छन्। यता इरानी नेताहरूले अमेरिकामा पेट्रोलको मूल्य झन् बढ्ने चेतावनी दिँदै राजनीतिक दबाब बढाउन खोजेका छन्।
ट्रम्पले वार्ता मैत्रीपूर्ण भएको बताए पनि इरान वार्तामा फर्किने–नफर्किनेबारे दोधार देखिएका छन्।
इरानी राष्ट्रपति मशुद पेजिस्कियनले भने सन्तुलित र निष्पक्ष सम्झौता सम्भव छ भन्दै अमेरिका अन्तर्राष्ट्रिय कानुनको दायरामा फर्किए सहमति टाढा नरहेको बताएका छन्। उनले यसबारे भ्लादिमिर पुटिनसँग पनि छलफल गरेका थिए।