सम्राट चौधरीले बुधबार बिहारको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। उनी बिहारमा भारतीय जनता पार्टी (भाजपा) का पहिलो मुख्यमन्त्री हुन्।
सम्राट चौधरी मुख्यमन्त्री बन्ने बाटो नितिश कुमारको राजीनामापछि खुलेको हो। जनता दल (युनाइटेड) का नेता नितिश कुमारले हालै राज्यसभाको सदस्यका रूपमा शपथ लिएका थिए।
त्यससँगै बिहारको मुख्यमन्त्रीका रूपमा नितिशको करिब २१ वर्ष लामो राजनीतिक यात्रा समाप्त भएको छ।
उनी सन् २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए। उनको स्थायी कार्यकाल सन् २००५ नोभेम्बरबाट सुरू भएको थियो।
सम्राट चौधरीसँगै विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्।
बिहारमा नितिशको असाधारण इतिहास छ। सन् १९७४ मा जनता पार्टीबाट एक नवप्रवेशीका रूपमा राजनीति सुरू गरेका उनले ५० वर्षभन्दा बढी समय बिहारको राजनीतिमा प्रभुत्व जमाए।
हाल ७५ वर्षीय नितिश कुमारले आफूलाई 'सुशासन बाबु' का रूपमा चिनाउन सफल भएका थिए। दस पटक मुख्यमन्त्री बन्ने कीर्तिमान राखेका उनलाई धेरै अर्थमा अझै पनि 'मिस्टर बिहार' मानिन्छ।
यस्तो विरासत बनाएका नितिशको ठाउँमा अब ५७ वर्षीय सम्राट चौधरीको आगमन भएको छ।
सन् १९६८ नोभेम्बरमा मुंगेर जिल्लामा जन्मिएका सम्राट राजनीतिक पृष्ठभूमिबाटै आएका व्यक्ति हुन्। उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट ६ पटक विधायक बनेका थिए। आमा पार्वती देवीले सन् १९९८ मा अहिले अस्तित्वमै नरहेको समता पार्टीबाट त्यही क्षेत्रमा जित हासिल गरेकी थिइन्।
सम्राटले सन् १९९० मा आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए। सन् २०२५ को निर्वाचनमा उनले फेरि पारिवारिक गढ जितेका थिए। पछिल्ला १२ निर्वाचनमध्ये ९ पटक बुबा, आमा र छोराले नै उक्त क्षेत्र जितेका छन्।
सम्राट सुरूमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र नितिश कुमारको जेडियूसँग आबद्ध थिए। उनले सन् २०१४ मा यी दुई दल विभाजन गराउने प्रयास गरेका थिए। पछि एक दर्जनभन्दा बढी विधायकलाई साथमा लिएर उनी भाजपा प्रवेश गरे।
सन् १९९९ मा राबडी देवी नेतृत्वको सरकार र भाजपा सहयोगी दल हुँदा उनी कृषिमन्त्री बनेका थिए। सन् २००० र २०१० को चुनावमा उनले परबत्टा विधानसभा क्षेत्र जिते। सन् २०१० मा भाजपा विपक्षमा हुँदा उनी मुख्य सचेतक बने।
त्यसपछि उनी सन् २०२३ मार्चदेखि २०२४ जुलाईसम्म बिहार भाजपा अध्यक्ष रहे। उनले खेलकुद, अर्थ, पञ्चायती राज तथा सहरी विकास तथा आवास मन्त्रीका रूपमा पनि काम गरेका छन्।
सम्राट कुशवाहा समुदायका हुन्। सन् २०२३ मा गरिएको जातीय सर्वेक्षण अनुसार बिहारमा कुशवाहाको ४.३ प्रतिशत जनसंख्या छ। यो समुदाय यादवपछि बिहारको सबैभन्दा ठूलो ओबिसी (अन्य पिछडिएको समूह) हो।
नितिश कुमारपछिको राजनीतिक चरणमा कुशवाहा समुदायलाई आफ्नो पक्षमा राख्नु भाजपाका लागि महत्त्वपूर्ण छ। त्यसैले सम्राट भाजपाको रोजाइमा परेको मानिन्छ।
सन् २०२३ मा सम्राटले एउटा वाचा गरेका थिए। उनले नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र पगडी खोल्ने घोषणा गरेका थिए।
नितिश कुमार विपक्षी गठबन्धनमा गएपछि चौधरीले पगडी लगाउन सुरू गरेका थिए। एक वर्षपछि उनले अयोध्यामा पुगेर भगवान रामलाई पगडी चढाए।
सम्राटको उदयले भाजपा अहिले बिहार सरकारमा अग्रणी बनेको संकेत गर्छ। अब अर्को बिहार विधानसभा चुनाव सन् २०३० मा हुने छ। यसले सम्राट र भाजपालाई आफ्नो आधार बलियो बनाउन समय दिन्छ।
तर बिहारको राजनीति लगातार बदलिने भएकाले मुख्यमन्त्री बन्नु र लामो समयसम्म टिक्नु फरक कुरा हो!