नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गण्डकी प्रदेश सरकारमा आज मन्त्रिपरिषद हेरफेर हुँदैछ।
मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद हेरफेर गर्ने सहमति भएसँगै आज नयाँ मन्त्री नियुक्त गर्न लागिएको हो।
मुख्यमन्त्री कार्यालयका अनुसार नेपाली कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुँदैछन्।
एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त हुँदैछन्।
उनीहरुलाई आजै नेपाल पर्यटन बोर्डको कार्यालयमा सपथ ग्रहण गराउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिषदको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री पाण्डेबाहेक प्रदेश सरकारमा रहेका सबै मन्त्री हेरफेर गर्ने सहमति भए अनुसार दुबै दलबाट सरकारमा सहभागी मन्त्री हेरफेर हुन लागेको हो।