रूसको तर्फबाट युक्रेनसँग लड्न क्युबाले पाँच हजार सम्म लडाकू पठाएको अमेरिकाले दाबी गरेको छ।
डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदलाई दिएको जानकारी अनुसार क्युबाले रूसलाई कुटनैतिक तथा राजनीतिक समर्थन मात्रै नभएर युद्ध लड्न लडाकू समेत पठाएको छ।
क्युबाले आधिकारिक रूपमा सबै लडाकुहरू पठाएको प्रमाणित नगरे पनि कम्युनिस्ट सरकारले जानाजानी त्यसलाई सहजीकरण गरेको अमेरिकाको जनाएको छ।
'युक्रेनमा रुसी सैन्य कारबाहीलाई समर्थन गर्ने विदेशी लडाकुहरूको सबैभन्दा ठूलो चिनिने समूहमध्ये क्युबाली नागरिकहरू एक देखिएका छन्,' अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनको हवाला दिंदै एक्सियस अनलाइनले लेखेको छ।
यस अघि कम्युनिस्ट शासन भएको उत्तर कोरियाले पनि रूसका लागि युक्रेनी सेनासँग लड्न हजारौं सैनिक पठाएको खुलासा भएको थियो।
ट्रम्प सरकारले क्युबामा सत्ता पल्टाउन खोजिरहेको बेला क्युबाले रूसमा लड्न लडाकू पठाएको खुलासा भएको हो।
ट्रम्पले गत डिसेम्बर महिनाको अन्त्यमा सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए।
त्यसपछि उनले क्युबामा पनि सत्ता पल्टाउन खोज्ने आकलन गरिएको थियो। क्युबालाई दबाब हाल्न अमेरिकाले जनवरीमा भेनेजुएलाबाट क्युबा जाने तेलको ढुवानी रोकेको थियो।
फेब्रुअरी अन्त्यमा उनले इरानसँग युद्ध सुरू गरेपछि उनको ध्यान अन्तै गएको भनेर क्युबालाई राहत भएको थियो। तर इरानसँग युद्ध चलिरहेकै बेलामा केही हप्ता अघि उनले क्युबामा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका थिए।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आफूले कुनै न कुनै रूपमा क्युबा लिने अवसर पाउने ट्रम्पले जनाएका थिए।
'मैले यसलाई स्वतन्त्र गराऊँ वा कब्जा गरूँ, यदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने मलाई लाग्छ कि म योसँग जे चाहन्छु त्यही गर्न सक्छु,' क्युबा अहिले धेरै कमजोर राष्ट्र भएको जिकिर गर्दै उनले भनेका थिए।
क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले केही दिनअघि सो टापुमाथि अमेरिकाले लगाएको ऊर्जा नाकाबन्दीको वार्ताद्वारा समाधान खोजिरहेको खुलासा गरेका थिए।
अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले पनि ट्रम्प सरकारले डियाज-कनेललाई हटाउन खोजिरहेको समाचार लेखेको थियो।
भेनेजुएलामा मदुरोलाई हटाएर उनकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सत्तामा पुर्याए जस्तै क्युबामा पनि अरू कसैलाई सत्ता हस्तान्त्रण गर्न लागेको अमेरिकी मिडियाले अनुमान गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)