१० दिनको युद्धविराम लागू हुनुअघि इसराइलले लेबननमा भीषण हमला गरेको छ।
गएरातिदेखि नै लागू हुनेगरी इसराइल र लेबननबीच १० दिनको युद्धविराम लागू भएको थियो। यो दश दिनमा शान्ति सम्झौता हुने बताइएको छ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार युद्धविराम कार्यान्वयनमा आउनुअघिको चौबीस घन्टाको समयमा इसराइलले लेबननमा ३८० भन्दा बढी हिजबुल्लाह अड्डाहरूलाई निशान बनाएको हो।
इसराइली सेनाले पनि वक्तव्य जारी गरेर दक्षिणी लेबननमा रहेका हिजबुल्लाह मुख्यालय, लडाकू र रकेट लञ्चरलाई निशाना बनाइएको जानकारी दिएको छ।
उक्त आक्रमण दक्षिणी लेबननमा सञ्चालनमा रहेका स्थल सेनाको कारबाहीलाई सहयोग पुर्याउन गरिएको पनि आइडिएफले जनाएको छ।
युद्धविराम लागू हुनुअघि गरिएको यो आक्रमणलाई इजरायलले आफ्नो सुरक्षा रणनीतिसँग जोडेको छ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानभित्रै करिब १० किलोमिटर गहिराइसम्म सुरक्षा क्षेत्र कायम गरिने र त्यहाँ इजरायली सेना तैनाथ रहने बताएका छन्।
बिबिसीले पनि पछिल्लो २४ घण्टामा ३८० भन्दा बढी हिज्बुल्लाह लक्ष्यमा प्रहार गरेको पुष्टि गरेको छ। सेनाले रकेट लन्चर, कमाण्ड केन्द्र र इरान समर्थित समूहका लडाकुहरूलाई लक्षित गरिएको जनाएको छ।
यसअघि लेबनानले युद्धविराम लागू भइसकेपछि पनि इजरायलबाट छिटफुट आक्रमण भएको आरोप लगाएको थियो।
यस्तो अवस्थामा युद्धविरामअघि भएको व्यापक आक्रमण र त्यसपछि कायम उच्च सतर्कताले शान्ति प्रक्रिया अझै संवेदनशील रहेको देखिएको छ।
विश्लेषकहरूका अनुसार युद्धविराम लागू हुनुअघि दुवै पक्षले अधिकतम सैन्य दबाब सिर्जना गर्ने प्रयास गरेका छन्, जसले आगामी वार्ता र शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ।
फेब्रुअरी २८ अमेरिका र इसराइलले इरानमा संयुक्त हमला गरेपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा जबाफी हमला गरेको थियो।
त्यसयता इसराइलले लेबननमा व्यापक हमला गर्दै आइरहेको छ।
अमेरिका र इरानबीच युद्धविराम हुँदा लेबनन पनि लेबनन पनि समेटिएको भनेर मध्यस्थ गर्ने देशहरू पाकिस्तान र इजिप्टले बताएका थिए।
पछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा लेबनन नसमेटिने बताएका थिए।
त्यसपछि इसराइलले लेबननमा अझै सशक्त हमला गरिरहेको छ।
केही दिनअघि अमेरिकामा विदेशमन्त्री मार्को रूबिओको पहलमा इसराइल र लेबननका राजदूतहरूबीच प्रारम्भिक वार्ता भएको थियो। त्यो वार्ताबाट औपचारिक वार्तामा बस्ने सहमति जुटेको थियो।
युद्धविराम लागू भएपछि इसराइल र लेबनन दुवैले शान्तिका लागि ढोका खुलेको भन्दै खुशी व्यक्त गरेका छन्।