स्ट्रेट अफ हर्मुज पार गर्दै गरेका दुइटा भारतीय झन्डाबाहक पानीजहाजमा गोलाबारी भएको छ।
इराकबाट कच्चा तेल बोकेर भारततर्फ आउँदै गरेको सनमार हेराल्ड नामको पानीजहाज र साउदी अरबको अल जुबैल बन्दरगाहबाट आउँदै गरेको जग अर्नब नाम गरिएको समुद्री जहाजमा शनिबार गोलाबारी भएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।
दुई समुद्री जहाजमा इरानी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) गनबोटबाट गोलाबारी भएको टाइम्सले जनाएको छ।
गोलाबारीपछि दुवै पानीजहाजले लारक टापु पार गरेपछि ढिलो गतिमा गई यू–टर्न लिएर मार्ग परिवर्तन गरेको थियो। यद्यपि घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ।
हर्मुजमा पहिलो पटक भारतीय समुद्री जहाजलाई आइआरजिसीले निशाना बनाएको हो। आफ्ना दुई व्यापारिक जहाजमाथि गोलाबारी भएपछि भारतले गम्भीर चिन्ता व्यक्त गर्दै इरानी राजदूतलाई घटनाको जानकारी दिन बोलाएको भनेर बिबिसी हिन्दीले जनाएको छ।
समुद्री निगरानी निकायका अनुसार एउटा तेल ट्यांकर नजिक दुईवटा आईआरजिसी गनबोट बिना पूर्व सूचना पुगेका थिए र त्यसपछि गोली प्रहार गरिएको थियो। अर्को जहाजमा एउटा 'अज्ञात प्रोजेक्टाइल' लागेर क्षतिग्रस्त भएको जनाइएको छ। तर आगलागी वा वातावरणीय क्षति भएको छैन।
पछिल्लो दिनमा केही भारतीय जहाजहरूले सुरक्षित रूपमा यही मार्ग भएर आवतजावत गरिरहेका थिए।
‘एमटी देश गरिमा’ नामक जहाज शनिबार दिउँसो सुरक्षित रूपमा मार्ग पार गरी मुम्बईतर्फ गइरहेको बताइएको छ। हालसम्म कम्तीमा ९ जहाज सुरक्षित रूपमा पार भइसकेका छन् भने १३ जहाज अझै फारसको खाडी क्षेत्रमा रहेको जनाइएको छ।
घटनापछि भारतले कूटनीतिक पहल तीव्र बनाएको छ। विदेश सचिव विक्रम मिस्रीले नयाँ दिल्लीस्थित इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर कडा आपत्ति जनाएका छन्।
आज हर्मुज स्ट्रेटमा भारतीय झण्डा भएका दुई जहाजमाथि भएको गोलीबारीप्रति भारतले गहिरो चिन्ता व्यक्त गरेको छ,' भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्।
उनका अनुसार मिस्रीले समुद्री सुरक्षालाई भारतले उच्च प्राथमिकता दिने उल्लेख गर्दै इरानलाई तत्काल भारतीय जहाजहरूको सुरक्षित आवागमन पुनः सुनिश्चित गर्न आग्रह गरेका छन्। इरानी राजदूतले भने भारतको चिन्ता तेहरानसम्म पुर्याउने आश्वासन दिएका छन्।
बिबिसीका अनुसार घटनाका क्रममा आईआरजिसी नौसेनाले रेडियो सन्देशमार्फत भारतीय जहाजहरूलाई मार्ग परिवर्तन गर्न निर्देशन दिएको थियो।
'च्यानल १६ को अडिओ रेकर्डिङका आधारमा आईआरजिसीले दुई भारतीय जहाजलाई स्ट्रेटबाट पछि हट्न बाध्य बनायो,' ट्यांकर ट्र्याकिङ समूहले जनाएको छ।
यसबीच इरानका सर्वोच्च नेताका प्रतिनिधि डा. अब्दुल मजीद हकिम इलाहीले भारत–इरान सम्बन्ध अत्यन्त बलियो रहेको बताउँदै भने, 'हामी युद्ध चाहँदैनौँ, शान्ति चाहन्छौँ। यो समस्या समाधान हुन्छ भन्ने अपेक्षा छ।'
यो घटना अमेरिका–इरानबीच जारी तनाव र सम्भावित युद्धविराम सम्झौताको प्रयासबीच भएको हो।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्ध पूर्ण रूपमा अन्त्य नभएसम्म हर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण कायम रहने चेतावनी दिएको छ। साथै, अमेरिकी नाकाबन्दीलाई उसले युद्धविराम उल्लंघन भन्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि हर्मुजमा नाकाबन्दी कायम बताएका थिए। 'यदि बुधबारसम्म कुनै ठूलो सम्झौता भएन भने हामी फेरि बम वर्षा सुरु गर्न सक्छौँ,' उनले भनेका छन्।
उता इरानले पहिले स्ट्रेट खुला रहेको दाबी गरे पनि पछि जहाजहरूलाई आफूले तोकेको मार्गबाट मात्रै आवागमन गर्न दिने बताएको छ। इरानी सरकारी मिडियाका अनुसार देशको सेनाले पुनः स्ट्रेटमा पूर्ण नियन्त्रण स्थापना गर्ने घोषणा गरेको छ।
शुक्रबारदेखि हर्मुज अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको इरानले शनिबारदेखि पुनः पुरानै अवस्थामा फर्किएको बताएको थियो। अमेरिकाले नाकाबन्दी जारी राखेका कारण इरानले हर्मुजमा नियन्त्रण कायम राखिएको बताएको थियो।