अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेपछि दुई देशबीच हुने भनिएको वार्ता अनिश्चित भएको छ।
इरानमाथिको नाकाबन्दी कडा बनाउन खटिएको अमेरिकी सेनाले आइतबार इरानी पानीजहाज कब्जामा लिएको थियो।
इरान र अमेरिकाबीच अप्रिल ७ मा भएको दुई हप्ता लामो युद्धविराम बुधबार समाप्त हुँदैछ। अमेरिकी प्रतिनिधिहरू इरानसँगको वार्ताका लागि सोमबार इस्लामावाद पुग्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। तर इरानले भने पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने भन्नेबारे अझै कुनै घोषणा गरेको छैन। अमेरिकाको 'अत्याधिक र तर्कहीन' माग र उसको बदलिँदो अडानका कारण दोस्रो चरणको वार्ताको कुनै योजना छैन भनेर इरानी सरकारी टेलिभिजनले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
अर्को तर्फ इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने अमेरिकासँगको तनाव कम गर्न हरेक तर्कसंगत र कूटनीतिक मार्ग अपनाउनुपर्ने बताएका छन्। यद्यपि उनले अमेरिकालाई विश्वास गर्न नहुने भएकाले वार्ता गर्दा सतर्कता अपनाउनु आवश्यक भएकोमा जोड दिएका छन्।
अमेरिकासँग वार्ता गर्ने विषयमा इरानमा आन्तरिक विभाजन देखिएको छ। मध्यमार्गी राजनीतिक नेताहरू वार्ता गरेर अमेरिकासँग सुलह गर्ने पक्षमा देखिएका छन् भने सेनाले चाहिं अमेरिकासँग झुक्न नहुने भनेर कडा शर्तहरू अघि सारेको भनेर विभिन्न अमेरिकी मिडियाले लेखेका छन्।
इरानका राजनीतिक नेताहरू माथि सेना हावी भएकाले हर्मुज फेरि बन्द भएको समाचार आएका छन्।
शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबननबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका थिए।
'लेबननमा भएको युद्धविराम पछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक जहाजहरूको आवागमन युद्धविरामको बाँकी समयका लागि पूर्ण रूपमा खुलाइएको छ,' उनले शुक्रबार लेखेका थिए।
तर इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) ले शनिबार देखि नै फेरि पानीजहाजहरूको आवतजावतमा कडाइ गरेको छ। हर्मुज पार गरिरहेको दुईवटा भारतीय जहाजमा इरानले गोलीबारी समेत गर्यो।
राजनीतिक नेताहरूमाथि आइआरजिसी हाबी भएकाले हर्मुज फेरि बन्द भएको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ। विदेश मन्त्री अब्बास अराग्चीले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत हर्मुज पूर्ण रूपमा खुलाइएको जानकारी दिएको केही घण्टामै इरानी नौसेनाले रेडियोमार्फत जहाजहरूलाई हर्मुज नखुलेको सूचना दिएका थिए।
‘हामी हाम्रा सर्वोच्च नेता मोज्तबा खमेनीको आदेशमा हर्मुज खोल्नेछौं, कुनै मूर्खको ट्विटको भरमा होइन,’ भनेर आफूलाई आइआरजिसीको नौसेनाको सदस्य बताउने एक व्यक्तिले रेडियो सन्देश प्रवाह गरेको जर्नलले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हर्मुजमा लगाएको नाकाबन्दी नखोलेकाले इरानले पनि हर्मुज अझै बन्द राख्ने र जहाजहरूलाई जानका लागि अनुमति चाहिने आइआरजिसीले पछि जानकारी दियो।
अमेरिकाले लेबननमा युद्धविराम गराएका कारण इरानी राजनीतिक नेताहरूले अमेरिकासँगको वार्तालाई सहज पार्न हर्मुज खोलेको घोषणा गरेका थिए। तर आइआरजिसीले तुरून्तै आफ्नो प्रभुत्वको प्रयोग गरेर हर्मुज बन्द रहेको घोषणा गरेको जर्नलले लेखेको छ।
यसअघि पनि आइआरजिसीले इरानका राष्ट्रपतिलाई अप्ठ्यारो पार्ने काम गरिसकेको छ। अमेरिका र इसराइलसँगको युद्ध सुरू भएको एक हप्ता पछि इरानी राष्ट्रपति मसुद पेजेस्कियान खाडीका छिमेकी राष्ट्रहरूमा इरानले प्रहार गरेकोमा माफी माग्दै फेरि देखि आक्रमण नगर्ने सन्देश दिएका थिए। तर उनको सन्देश प्रशारण भएको केही घण्टामै आइआरजिसीले छिमेकी राष्ट्रहरूमा फेरि ड्रोन र मिसाइल हमला गरेको थियो।
यसपटक पनि नरमपन्थी पेजेस्कियानका विदेश मन्त्रीले हर्मुज खुलेको घोषणा गरेको केही बेरमै आइआरजिसीले फेरि सो जलमार्ग बन्द गरेको हो।
त्यस्तै अमेरिकासँग वार्तामा बस्ने कि नबस्ने भन्ने बारे सेना र नेताहरूको मत बाझिएको देखिन्छ। दोस्रो चरणको वार्ताको कुनै योजना छैन भनेर इरानी सरकारी टेलिभिजनले उद्धृत गरेको अज्ञात स्रोत आइआरजिसी रहेको देखिन्छ। यस्तो सन्देश आएपनि अर्को राष्ट्रपति पेजेस्कियानले अमेरिकासँगको तनाव कम गर्न कूटनीतिक मार्ग अपनाउनुपर्ने बताएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)