नेपाली कांग्रेसका नेता शेखर कोइराला हिजोआज विराटनगरमै छन्। तर पार्टीले आयोजना गरेको कोशी प्रदेशस्तरीय चुनावी समीक्षामा भने अनुपस्थित रहे।
सर्वोच्च अदालतले हालै विशेष महाधिवेशनलाई वैधानिकता दिएको थियो। कोइराला पक्षले पनि सर्वोच्चको आदेश स्वीकार गर्ने निष्कर्ष निकालेको थियो।
तैपनि पार्टी संस्थापनइतर पक्ष केही अन्योलमा देखिएको छ।
बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षामा संस्थापनइतर पक्षको अन्योल व्यवहारतः प्रकट भएको छ।
नेता शेखर कोइराला आफ्नै गृहनगरमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भएनन्। यद्यपि कोइरालानिकट नेता मीनेन्द्र रिजालदेखि सरिता प्रसाईंसम्म कार्यक्रममा सहभागी थिए।
शेखरनिकट नेताहरूले दिएको जानकारीअनुसार बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा उनलाई भेट्न पुगेका मीनेन्द्र रिजाल, रामहरि खतिवडा लगायतलाई कोइरालाले आफू कार्यक्रममा नआउने जानकारी गराएका थिए।
‘सभापति गगनजी थापाले फोन गरेर कार्यक्रममा आउनुस् भन्नुभएको छ तर अब कसरी अघि बढ्ने, हामीलाई कसरी समेट्ने भन्ने कुरा प्रष्ट नभएसम्म मैले कार्यक्रममा आउँदिन भनेको छु,’ शेखरले बुधबार बिहान निवासमा नेताहरूसँग भनेका थिए।
प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू, जिल्ला, क्षेत्रका सभापतिहरूलाई निम्त्याइएको कार्यक्रममा पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा लगायत सहभागी थिए।
कार्यक्रममा बोल्ने क्रममा देउवा समूहका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अबको नेता ‘गगनजी नै भएको’ बताउँदै सबैलाई समेटेर लैजान आग्रह गरेका थिए।
देउवा समूहमै रहेर आफ्नो अलग समूह अझै चलाइरहेका नेता कृष्णप्रसाद सिटौला पनि कार्यक्रममा अनुपस्थित रहे। तर सिटौला निकट मानिने उम्मेदवारहररु, प्रदेश समितिका सबै पदाधिकारी भने उपस्थित थिए।
उनीहरूले बोल्ने क्रममा अब सबैलाई समेटेर अघि बढ्न सभापति थापालाई आग्रह गरेका थिए।
नेता सिटौलाले चुनाव लड्दै आएको क्षेत्र झापा ३ बाट यसपटक चुनाव लडेका राजेन्द्र घिमिरेले त आफू चुनाव लड्दै गर्दा सिटौला एकपटक पनि देखा नपरेको भन्दै आक्रोश नै पोखे।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले पार्टीभित्र एकता आवश्यक भएको तर त्यसले मात्र नपुग्ने बताउका थिए।
‘हामी मिल्नुको विकल्पै छैन, मिलाइन्छ। तर हामी मिलेर मात्रै पुग्दैन, हामी हामीलाई छोडेका १० लाख मतदातासम्म पुग्नुपर्छ,’ उनले भने, ‘विश्वास फिर्ता ल्याउनुपर्छ।’
उनले नयाँ पुस्तासँग संवाद बढाउनुपर्ने र पार्टीलाई चार पुस्ताको समन्वयमा अघि बढाउनुपर्ने पनि बताएका थिए। ‘हामीलाई अनुभव पनि चाहिन्छ, नयाँ ऊर्जा पनि चाहिन्छ,’ उनले भने।
पार्टीभित्र देखिएको असन्तुष्टि र विवादलाई लिएर उनले कार्यकर्तालाई ‘दास होइन, सचेत सदस्य’ का रूपमा व्यवहार गर्नुपर्ने बताएका छन्।
उनले लामो समय एउटै क्षेत्रमा काम गरेका कार्यकर्ताले नयाँ उम्मेदवारका पक्षमा नउत्रिने प्रवृत्तिमाथि प्रश्न उठाउँदै भने ‘कुनै नेता चार–पाँचपल्ट चुनाव लड्नुभयो, त्यो ठाउँका कार्यकर्ताले दिनरात झोला बोकेर हिँडे। तर आज त्यही ठाउँमा अर्को साथी उम्मेदवार बन्दा एकपल्ट मत पनि नमाग्ने कुरा गर्न पाइन्छ? कार्यकर्ता दास होइन, ऊ पनि पार्टीको सदस्य हो।’
कांग्रेसको आगामी भूमिकाबारे बोल्दै उनले भने, ‘हामी अहिले प्रमुख प्रतिपक्षमा छौं। सरकारले राम्रो काम गर्छ भने साथ दिन्छौं, जहाँ चुक्छ त्यहाँ खबरदारी गर्छौं। जहाँ बोल्नुपर्छ बोल्छौं, जहाँ लड्नुपर्छ लड्छौं—यही कांग्रेसको चरित्र हो।’
सभापति थापाले कांग्रेस एक–दुई निर्वाचन परिणामले विचलित हुने पार्टी नभएको उल्लेख गर्दै संघर्षको इतिहास स्मरण गराए।
‘एउटा चुनाव हार्दैमा खुम्चिने र जित्दैमा उफ्रिने हुँदैन,’ उनले भने, ‘हामी संघर्षबाट आएको पार्टी हौं।’
थापाले कांग्रेसको अहिलेको मुख्य संकट ‘पहिचान र छविको भएको बताएका थिए।
‘हामीलाई अहिले पुरानो, भ्रष्ट र अक्षम भनेर चित्रण गरिएको छ। यसमा के–के सुधार गर्नुपर्ने हो, हामीले गम्भीर समीक्षा गर्नुपर्छ,’ विगतमा गैर–कम्युनिस्ट र गैर–राजावादी राजनीतिक धारको स्वाभाविक केन्द्र कांग्रेस नै रहेको स्मरण गर्दै थपे, ‘पहिले ३०–३५ प्रतिशत ठाउँ स्वाभाविक रूपमा कांग्रेसको थियो। तर अहिले समाज बदलिएको छ, मतदाता बदलिएका छन्। यही परिवर्तनका कारण कांग्रेसले आफ्नो राजनीतिक स्थान, पहिचान र प्रस्तुति पुनः परिभाषित गर्नुपर्ने अवस्था आएको छ।’
सभापति थापाले अहिलेको डिजिटल युगले राजनीति गर्ने तरिका नै बदलिदिएको बताए।
‘हिजो कार्यकर्ताले सूचना बोक्थ्यो, आज फोनले बोक्छ,’ उनले भने, ‘तर हाम्रो संगठनको संरचना भने अझै हिजोकै छ।’
सामाजिक सन्जालको चर्चा गर्दै उनले थपे ‘यहाँ डर बिक्छ, भावना बिक्छ। उत्तेजित कुरा छिटो फैलिन्छ। त्यसैले पुराना पार्टीहरूलाई न याँ सञ्चार माध्यम अनुकूल हुँदैन।’
उनकाअनुसार यही कारणले नयाँ शक्ति र नयाँ राजनीतिक समूहहरूलाई तुलनात्मक रूपमा सहजता मिलिरहेको छ। थापाले प्रतिस्पर्धी दलसँग जुध्न संगठनात्मक रूपमा बलियो हुनुपर्नेमा जोड दिए।
भारतको उदाहरण दिँदै उनले भने, ‘जसरी ममता बनर्जीले ज्योति बसुको पार्टीलाई चुनौती दिन त्यस्तै संरचना बनाइन्, त्यसैगरी प्रतिस्पर्धामा उत्रनुपर्छ।’
सभापति थापाले पार्टीभित्र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै पार्टी त्यही दिशामा अघि बढेको बताए। कार्यक्रममा थापाले कांग्रेस अझै पनि देशको महत्त्वपूर्ण शक्ति भएको दाबी गर्दै आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरेका थिए।