सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा 'आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेहरू विरुद्ध' विद्युतीय कारोबार ऐन अनुसार कार्बाही गर्ने चेतावनी दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।
पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आधिकारिकता पुष्टि नभएका सूचनाहरू प्रवाह भइरहेको भन्दै मन्त्रालयले यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको, समाजमा नकारात्मक र गलत मनोविज्ञान फैलाएको र हचुवाका भरमा सूचना प्रवाह गरी सामाजिक सद्भावमा आँच पुर्याएको जनाएको छ।
'यदि आधारहीन, मिथ्या र भ्रामक समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले सबै समाचार प्रदायक संस्था, व्यक्ति र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ।