भारतको पश्चिम बंगाल विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ।
यस चरणमा कुल १५२ सिटका लागि १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा छन्।
राज्यको कुल २९४ सिटमध्ये आधाभन्दा बढी सिट समेट्ने यो चरण राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणमा करिब ३ करोड ६० लाखभन्दा बढी मतदाता सहभागी छन्। जसमा झण्डै १ करोड ८५ लाख पुरुष, १ करोड ७५ लाख महिला र ४६५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।
मतदानलाई सुरक्षित बनाउन साढे २ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ।
केन्द्रीय अर्धसैनिक बलका २ हजार ४५० कम्पनी तैनाथ गरिएका छन् भने ८ हजारभन्दा बढी मतदान केन्द्रलाई अति संवेदनशील रूपमा वर्गीकृत गरिएको छ।
पहिलो चरणमा उत्तर बंगाल क्षेत्रका सबै ५४ सिट समेटिएका छन्। जुन क्षेत्र विगत चुनावहरूमा निर्णायक रहँदै आएको छ।
सन् २०१९ को लोकसभा चुनावमा यस क्षेत्रबाट भारतीय जनता पार्टीले उल्लेखनीय सफलता पाएको थियो भने २०२१ को विधानसभा चुनावमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो।
२०२१ को नतिजाअनुसार यी १५२ सिटमध्ये भारतीय जनता पार्टीले ५९ सिट जितेको थियो भने तृणमूल कांग्रेसले ९३ सिट जितेको थियो।
निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदान वैशाख १६ (२९ अप्रिल) मा हुने तय भएको छ भने मतगणना वैशाख २१ (४ मे) मा गरिने निर्वाचन आयोगले जनाएको छ।