नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिए।
उनले यो विषय अब दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत निकास निकाल्ने विषय भएको समेत प्रष्ट पारे।
परराष्ट्र मन्त्रालयले जारी गरेको नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको समेत उनले स्पष्ट पारे।
‘त्यो सीमा विस्तार गरिएको विषय नै होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्। यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा प्रतिबद्ध छ।’
मन्त्रालयहरू गाभ्ने चर्चाका विषयमा बोल्दै उनले आजको बैठकमा यसबारे कुनै ठोस छलफल नभए पनि यसका प्राविधिक र कानूनी पक्षहरूका बारेमा अध्ययन भइरहेको बताए।
सञ्चारकर्मीहरूको प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा उनले यो कडाइ गरिएको नभई आन्तरिक आवतजावत र प्रवेशलाई थप सहज र व्यवस्थित बनाउन खोजिएको मात्र हो । –न्युज एजेन्सी नेपाल