अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे आफ्नो र चिनियाँ राष्ट्रपति सी चिनफिङको समान धारणा रहेको दाबी गरेका छन्।
सीसँग शुक्रबार दोस्रो चरणको वार्ता सकिएपछि इरान मामलामा आफ्नो धैर्यता टुट्दै गएको भन्दै उनले त्यस्तो टिप्पणी गरेका छन्।
इरानलाई आणविक हतियार बनाउन दिन नहुने र उसले स्ट्रेट अफ हर्मुज खोल्नुपर्ने कुरामा सी पनि सहमत भएको खुलाएका छन्।
‘हामीले धेरै यस्ता फरक समस्याहरू समाधान गरेका छौं, जुन अन्य मानिसहरूले समाधान गर्न सक्ने थिएनन्,’ ट्रम्पले भने।
सीले भने इरानका बारेमा ट्रम्पसँग भएको आफ्नो छलफलमा कुनै टिप्पणी गरेनन्।
चीनको परराष्ट्र मन्त्रालयले इरान युद्धबारे एउटा कडा विज्ञप्ति जारी गर्यो। अमेरिका र इसराइलले सुरू गरेको युद्धप्रति असन्तुष्टि जनाउँदै मन्त्रालयले भन्यो, ‘यो द्वन्द्व, जुन कहिल्यै हुनु हुँदैनथ्यो, जारी रहनुको कुनै कारण छैन।’
इरानले युद्ध सुरू भएपछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ।
यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
सुरूमा इरानले मात्र हर्मुज बन्द गरेको थियो। अरूका पानीजहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महँगो शुल्क लिएर इरानले छोडिरहेको थियो। यस कारण इरानले युद्ध सुरू भएको बेलाभन्दा धेरै आम्दानी गरिरहेको थियो।
तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाए। त्यसपछि अहिले हर्मुज ठप्प जस्तै भएको छ।
पहिल्यै हर्मुजबाट निस्किएका जहाजले बोकेको तेल अहिले आपूर्ति भइरहेको छ। तर अहिलेको स्थिति अझै लम्बिने हो भने तेलको संकट अझै चर्किने छ। तेलको भाउ अहिलेको भन्दा धेरै उच्च हुने प्रक्षेपण गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)