अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण भएको एक साता नबित्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन जाँदै छन्।
पुटिनले चीन भ्रमणका लागि मंगलबार बेइजिङ जाने तय भएको छ।
भ्रमणअघि चीन र रूसबीच रणनीतिक साझेदारीको ३० औं वर्षगाँठ मनाइँदै गर्दा दुई देशबीचको सहकार्य निरन्तर गहिरो र सुदृढ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्।
ट्रम्पको भ्रमणको तुरून्तै पछि पुटिनको भ्रमणले विश्व कूटनीतिको केन्द्रविन्दुमा रहेको देखाएको चीनले दाबी गरेको छ।
'यस प्रकारका लगातार भइरहेका भ्रमणहरूले व्यापक ध्यान आकर्षित गरेका छन्। विश्लेषकहरूका अनुसार शीतयुद्धपछिको युगमा कुनै एउटा देशले एकै हप्ताभित्र अमेरिका र रूसका नेताहरूलाई पालैपालो स्वागत गर्नु अत्यन्तै दुर्लभ घटना हो,' चिनियाँ कम्युनिष्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सले सोमबार उल्लेख गरेको छ।
रूससँग चीनको गहिरिँदै गएको सम्बन्ध विशेष गरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ। पश्चिमा कूटनीतिज्ञ र विश्लेषकहरूका अनुसार त्यसयता चीनले रूसलाई दिएको आर्थिक र कूटनीतिक समर्थनले यस द्वन्द्वलाई टिकाइराख्न मद्दत पुर्याएको छ।
सी र पुटिनबीच ४० भन्दा बढी पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। सीको पश्चिमा नेताहरूसँग भएका भेटहरूको तुलनामा यो निकै नै बढी हो।
सन् २०२२ यता चीन र रूसको द्विपक्षीय व्यापार कीर्तिमानी स्तरमा पुगेको छ। चीनले रूसको कुल निर्यातको एक-चौथाइभन्दा बढी हिस्सा खरिद गर्ने गरेको छ। चीनले रूसी कच्चा तेल ठूलो मात्रामा खरिद गर्दा पुटिनलाई युक्रेन युद्ध धान्नका लागि अर्बौं डलर प्राप्त भएको छ।
गत हप्ता ट्रम्प र सीबीच भएको कुराकानीमा युक्रेन युद्ध र चीन-रूस सम्बन्धले दुवैले खासै प्राथमिकता नपाएको देखियो। मुख्य द्विपक्षीय बैठकको बारेमा चीनले जारी गरेको विज्ञप्तिमा 'युक्रेन संकट' को संक्षिप्त उल्लेख मात्र गरिएको थियो भने अमेरिकी विज्ञप्तिमा यसको कुनै चर्चा नै थिएन। त्यसको सट्टा, अमेरिका-चीन वार्ता मुख्य रूपमा व्यापार, ताइवान र मध्यपूर्वको युद्धमा केन्द्रित भएको देखिन्थ्यो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)