राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले महाधिवेशन प्रतिस्पर्धाका लागि खुला हुने बताएका छन्।
शुक्रबार कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा आगामी असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपाको पहिलो महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबै स्वतन्त्र रहेको जानकारी दिएका हुन्।
‘पार्टीको पहिलो महाधिवेशन चितवनमा हुँदैछ। हामी त्यसैको तयारीमा छौं। आआफ्नो ठाउँबाट तयारीमा जुट्नुहोला। प्रतिस्पर्धा हुँदैन कि, नेतृत्वले केही भन्ने हो कि भनेर सोच्नुपर्दैन, महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै सांसद गणेश कार्कीले जानकारी दिए।
कार्कीका अनुसार सभापति लामिछानेले सांसदको रूपमा गर्नुपर्ने काम, खेल्नुपर्ने भूमिका आदि पहिचान गरेर निर्बाध काम गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। १०० दिनसम्म सांसदहरूको प्रस्तुतिबारे आफूले कुनै टिप्पणी नगर्ने बताउँदै आफ्नो भूमिकाको पहिचान गर्न लामिछानेले भनेका थिए।
‘आज खासगरी सांसदहरूको अनुभूति सुनाउनेजस्तो मात्रै थियो। उहाँले १०० दिनसम्म सांसदहरूको कामको टिप्पणी नगर्ने, आफ्ना काम, जिम्मेवारीको पहिचान गर्न भन्नुभएको छ,’ उनले भने।
पार्टी सभापति लामिछानेले प्रदेश–प्रदेश छुट्टयाएर सांसदहरूसँग अन्तरक्रिया थालेका छन्। शुक्रबार कोशी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछानले अन्तरक्रिया गरेका हुन्।