नेपाली कांग्रेस संसदीय दल बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ।
त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख सचेतक बासना थापाको भनाइ छ।
अदालतमा सेटिङ भएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख समेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा विश्वास नभएको उनले बताइन्। त्यसैले संसदबाटै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ।
बैठकमा प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने विषयमा पनि छलफल भएको थियो।
सांसदहरूलाई संसदीय दलले दिएको जिम्मेवारी र त्यसको कार्यान्वयन अवस्थाबारे पनि बैठकमा समीक्षा गरिएको थियो।