नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन्।
अहिले पनि कोशी सरकारमा चार मन्त्रालयसहित कांग्रेस सहभागी छ, सरकार नेतृत्व भने नेकपा एमालेले गरेको छ।
उपसभापति शर्माले अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
कांग्रेसले प्रदेश सरकारहरूबारे छलफल गर्न उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि पटक पटक यसबारे कुराकानी गरिसकेका छन्।
उपसभापति शर्माले सुनसरीको लौकहीमा आज केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा भने, ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडैनै गर्नेछ। अहिले यसबारेमा म धेरै बोल्न चाहन्नँ, तर यति चाहिँ सबैले प्रष्ट बुझ्ने गरी भन्छु, अब कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछl’
कुनै पनि प्रदेशमा एकल बहुमत नहुँदा दलहरूले आलोपालो नेतृत्व गर्ने गरी गठबन्धन सरकार बनाइरहेका छन्।
उपसभापति शर्माले प्रदेशमा नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिने पनि बताए।
प्रदेश सरकारको नेतृत्व फेरबदलका लागि छलफलमा जुटेका कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको कुराकानी कोशीको विषयमा पुगेरै रोकिएको थियो।
कोशीको मुख्यमन्त्री पदमा दुवै दलले दाबी नछाडेपछि थप कुरा अघि बढ्न नसकेको नेताहरूले बताएका छन्। यही छलफललाई अन्तिम रूप दिन कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत आइतबार साँझ ओली निवास गुन्डुमा लामो छलफल भएको थियो।
दुई नेताबीचको कुराकानी कोशीमा पुगेर रोकिएको थियो।
गत साताउपसभापति शर्माले सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व सम्हाल्ने पूर्वसहमति अनुसार अघि बढनुपर्ने र कोशीको नेतृत्व कांग्रेसले गर्ने ओली सामु प्रस्ताव गरेका थिए।