होल्डिङ सेन्टरबारे छलफल भएको संसदीय समिति बैठकबाट पत्रकारहरू निकालिएका छन्।
शुक्रबार दिउँसो राज्य व्यवस्था समिति बैठकबाट रिपोर्टिङका लागि पुगेका पत्रकारलाई निकालिएको हो।
उक्त बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यतालिका थियो। त्यहाँ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन्।
संसदीय समिति बैठकहरूमा यसअघि पत्रकारलाई निषेध गरिएको थिएन।
संसदीय मामिला पत्रकार समाजका अध्यक्षसमेत रहेका सेतोपाटी संवाददाता मनोज सत्यालका अनुसार रिपोर्टिङका लागि पुगेका पत्रकारलाई एकछिन फोटो/भिडिओ फुटेज खिचेपछि सभापति हरि ढकालले निस्किन भनेका हुन्।
'गेटमा बसेका मर्यादापालकलाई पनि सोध्यौं। पत्रकारलाई प्रवेश नदिन भनेर सभापतिको निर्देशन छ भन्ने कुरा आयो,' उनले भने।
आफूले यसबारे समाजको तर्फबाट सभापति ढकाललाई मेसेज गरी असहमति समेत प्रकट गरेको उनले बताए।
त्यस्तै, पत्रकार बाहिर निकालिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले पनि आपत्ति जनाएका थिए।
समितिका सांसदहरूले कीर्तिपुर र बनेपास्थित सुकुम्बासीहरूका लागि राखिएको होल्डिङ सेन्टरको अनुगमन गरेका थिए। यही विषयमा छलफल गर्न बैठक डाकिएको थियो।