नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सुदूरपश्चिम प्रदेशमा भेला गरेका छन्।
पार्टीको बृहत्तर एकता र पुनर्जागरणका लागि भन्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज कैलालीको धनगढीमा भेला गरेका हुन्।
यो भेला गर्न संस्थापनइतर पक्षले निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री एनपी साउदलाई जिम्मेवारी दिएको थियो।
भेलामा उपस्थित रहन भन्दै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले मातहत कार्यसमितिहरूलाई पत्राचारसमेत गरेका थिए।
भेलामा नेता साउद, नेता रमेश लेखक, निवर्तमान केन्द्रीय सदस्य मोहन बस्नेत, ईश्वरी न्यौपाने, प्रदेश सभापति बलायरलगायत नेताहरू उपस्थित छन्।
संस्थापनइतर पक्षले यसअघि कोशी, बागमती, गण्डकी, कर्णाली भेला गरिसकेका छन्।
सुदूरपश्चिम भेलामा बोल्दै प्रदेश सभापति बलायरले पार्टीको निर्वाचन, अनुशासनलगायत समितिहरूमा आफूहरूको पनि प्रतिनिधित्व रहनुपर्ने बताएका थिए।
उनले देउवा नेतृत्वमा विगतमा कार्यसमितिमा रहेका मानिसहरू अहिले बाहिर रहेको पनि बताएका थिए। नेताहरू संघर्षबाट आएको उल्लेख गरेका उनले आफूहरूले गुट भेला नगरेको पनि बताएका थिए।
‘यो पार्टीमा हाम्रो लगानी, रगत र पसिना छ, यदि कसैभन्दा हामीले कम लगानी गरेका छौं भने हामी प्रतिस्पर्धा गर्न पनि तयार छौं,’ उनले भने, ‘हामी अनुदानको राजनीतिबाट आएका होइनौं।’