नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई सहज र द्रुत गतिमा अघि बढाउन प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिएको छ।
केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न जिम्मेवारी दिइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसले वैशाखदेखि नै जरा अभियानसँगै क्रियाशील सदस्यता अद्यावधिक गर्दै आएको छ। क्रियाशील सदस्यको विवरण डिजिटल बनाउन लागिएको नेताहरूले बताएका छन्।
सहमहामन्त्री डिला संग्रौलालाई कोशी, सहमहामन्त्री बहादुर सिंह लामालाई बागमती, सहमहामन्त्री उदयशम्शेर राणालाई सुदूरपश्चिम, नेता मुक्ताकुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, प्रवक्ता देवराज चालिसेलाई मधेस र अमरसिंह पुनलाई लुम्बिनी प्रदेशमा अनुगमन सहितको जिम्मेवारी दिइएको हो।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक आज सभापति गगन थापाको उपस्थिति र संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सानेपामा बसेको थियो।
बैठकले १५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ।
१४ औं महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५ औं महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने पनि निर्णय भएको छ।
विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूका हकमा सदस्यताबारे समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिको तर्फबाट १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।
गोपाल दहितलाई बारा, आङ्गेलु शेर्पालाई सिराहा, अब्दुल सत्तारलाई धनुषा, राजीव ढुंगानालाई सप्तरी, कुसुम थापालाई सोलुखुम्बु, देवप्रसाद तिमिल्सिनालाई सर्लाही, तिलक रानाभाटलाई सुर्खेत, प्रमोदहरि गुरागाईँलाई महोत्तरी, टेकराज पौडेललाई कपिलवस्तु, जगदीश नरसिंह केसीलाई सुनसरी, कमलकिशोर घिमिरेलाई रौतहट, कृष्ण रिजाललाई पर्सा, ईश्वर अधिकारीलाई काठमाडौंमा खटाइएको हो।
कांग्रेस जनसम्पर्क समितिको हकमा अधिवेशन सम्पन्न भइसकेका ७ देशको जनसम्पर्क समितिबारे क्रियाशील अद्यावधिक प्रक्रियाका लागि अनुमति दिने निर्णय भएको छ।
क्रियाशील सदस्यताबारे समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गरी अधिवेशन सम्पन्न गर्ने समय तालिका केन्द्रीय कार्यालयमा पेस गर्न परिपत्र गर्ने निर्णय भएको हो।
१४ औं महाधिवेशन पश्चात विविध कारणले केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका ७ देशका जनसम्पर्क समितिको हकमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने निर्णय पनि भएको छ।
क्रियाशील सदस्यताबारे समस्या भएका ८ देशका जनसम्पर्क समितिका हकमा अध्ययन गरी समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि भएको छ।