प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुइटा अभिव्यक्ति असामान्य, गम्मीर र चिन्ताजनक भएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन्।
'नेपालले पनि भारतको जग्गा मिचेको छ' र लिपुलेक, लिम्पियाधुरा सीमा विवादमा 'बेलायत सरकारको पनि सरोकार रहनुपर्छ भन्ने नेपाल सरकारको मान्यता छ' भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा उनले यस्तो टिप्पणी गरेका हुन्।
'नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ,' आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'दुई देशबीच तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ।'
आजसम्मका कुनै पनि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति संसदभित्र र संसदबाहिर दिएको रेकर्ड नभएको उल्लेख गर्दै संविधानविद आचार्यले भनेका छन्, 'यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन। यसको सबभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो।'
सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउने उनले बताएका छन्।
'सिंगो देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ,' उनले लेखेका छन्।