राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाँदै छन्।
भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभापति लामिछाने आज भारत जान लागेका हुन्।
उनी दिउँसो १ बजे भारत प्रस्थान गर्ने रास्वपाका एक नेताले जानकारी दिए।
भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य छन्।
भ्रमणबारे रास्वपाले आइतबार राति विज्ञप्ती जारी गरेको थियो। जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको बताएको हो।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ।
उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ।
सत्तारूढ रास्वपाको विज्ञप्ति जारी हुनु केही समयअघि मात्र भाजपाले उनको भारत भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो।
भ्रमण क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा छ।
रास्वपा र भाजपा दुवैको विज्ञप्तिमा उल्लेख नभए पनि रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने स्रोतले बताएको छ।
स्रोतका अनुसार उनीहरूसँग भेट्ने समय भने तय भइसकेको छैन।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण पनि टुंगो नलाग्नुले दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका बेला सत्तारूढ दलको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
यसअघि फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई–तिहाइ बहुमत प्राप्त गरेपछि भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर सभापति लामिछानेलाई बधाई दिएका थिए। त्यही बेला भारत भ्रमणको कुरा पनि भएको स्रोत बताउँछ।
सभापति लामिछानेको भेटवार्तामा रास्वपा र भाजपाबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने भाजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको विज्ञप्ति अनुसार यो भ्रमणले रास्वपा र भाजपाबीच पार्टी-टू-पार्टी सहकार्य सुरू गर्ने उद्देश्य राखेको छ। साथै, संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।
भाजपाले रास्वपा प्रतिनिधिमण्डलसँग रचनात्मक संवाद हुने विश्वास व्यक्त गरेको छ।