नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले सीमा विवादसम्बन्धमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादबारे 'भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ' भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसलाई असहनीय, निन्दनीय र गैरजिम्मेवार टिप्पणी भनेका हुन्।
सामाजिक सञ्जालमा भिडिओमार्फत प्रतिक्रिया जारी गर्दै उनले नेपाल–भारत सीमा विवाद दुवै देशको कमजोरीको परिणाम नभई भारतले लामो समयदेखि नेपालको भूभाग मिच्दै आएको विषय भएको दाबी गरे।
कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता र महेशपुरलगायत ६४ भन्दा बढी स्थानमा भारतीय अतिक्रमणबारे विज्ञहरूले निरन्तर आवाज उठाउँदै आएका उनले बताएका छन्।
'राष्ट्रको यति संवेदनशील विषयलाई हल्का ढंगले प्रस्तुत गर्नु जनतालाई र राष्ट्रलाई हेप्ने काम हो,' विप्लवले भने, 'यो सहन सकिने विषय होइन।'
उनले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट यस्तो अभिव्यक्ति दिँदा पनि सांसदहरूले प्रतिवाद नगरेको भन्दै संसदको भूमिकामाथि समेत प्रश्न उठाए।
संसद यस विषयमा दब्बु, बोधो र हल्का देखिएको उनको टिप्पणी थियो।
विप्लवले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे देशलाई जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने माग गरे।
'प्रधानमन्त्रीले यस विषयमा देशलाई स्पष्ट जवाफ दिनुपर्छ र माफी माग्नुपर्छ। साथै, यस्तो अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदका लागि योग्य हो कि होइन भन्ने प्रश्नसमेत उठेको छ,' उनले भनेका छन्।
राष्ट्रिय स्वाधीनताजस्तो गम्भीर विषयमा आफ्नो पार्टी छिट्टै संघर्षका कार्यक्रमसहित प्रतिरोधमा उत्रिने चेतावनी दिँदै उनले देशभक्त राजनीतिक शक्ति, विभिन्न संघसंस्था र नागरिक समाजलाई एकजुट हुन आह्वान गरेका छन्।