प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्ने क्रममा केसीको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो।
त्यसबेला उनी प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा भाग लिइरहेका थिए। बोल्ने क्रममा एक्कासी उनको शरीर कापेको थियो भने बोली लरबरिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि केसीले बसेरै प्रश्न सोध्न पाऊँ भन्ने माग सभामुखसँग गरेका थिए। त्यसपछि उनले बसेरै प्रश्न सोधेका थिए।
उक्त बैठकलगत्तै केसीलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो।
चेकजाँच गरी केसी अस्पतालबाट डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ।
‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी संसदमा प्रधानमन्त्रीसँग सवालजबाफ कार्यक्रममा सहभागी भइरहँदा केही अप्ठ्यारो महसुस भई अस्वस्थ भई ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचरार्थ हुनुहुन्थ्यो। अस्पतालमा सम्पूर्ण जाँच गरी स्वास्थ्य अवस्था सामान्य भएकोले डाक्टरको सल्लाह बमोजिम उहाँलाई घरमैबसी आराम गर्न मिल्ने भएकोले डिस्चार्ज हुनुभएको छ। उहाँको स्वास्थ्य सामान्य रहेको व्यहोरा अवगत गर्दछु,’ सचिवालयले भनेको छ।