नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बालेन शाहले आइतबार संसदमा बोलेको कुरा शत प्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले देशको प्रधानमन्त्रीले दिएको त्यस्तो अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता ,भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएका देशभक्त नेपाली जनतालाई लज्जित एवं आक्रोशित बनाएको पनि बताएका छन्।
यसले भारतले अतिक्रमण गरिएको लिम्पियाधुरा -लिपुलेक -कालापानी र सुस्ता क्षेत्रको नेपाली भूमि व्यावहारिक रुपमा नै नेपालको सार्वभौमिकता अन्तर्गत ल्याउने नेपालको निरन्तरको अभियानमाथी आँच पुर्याएको उनले बताए।
यसमा प्रधानमन्त्रीको जति विरोध र भर्त्सना गरे पनि कम हुने उनको भनाइ छ।
'यस निम्ति तत्काल नेपाली जनता र संसदसामु माफी माग्नु पर्छ, यसलाई सच्याउनु पर्दछ र संसदको अभिलेखबाट यसलाई हटाउनु पर्दछ। यो त्यत्तिकै विस्मृतिमा राखेर छुट दिने सामान्य विषय हुँदै होइन ।तसर्थ सम्पूर्ण देशभक्त शक्तिहरू सचेत र संगठित होऔं,' उनले भनेका छन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले सन् २००७ मा नै दुई देशको सीमा सम्बन्धी प्राविधिक समिति (JTC)ले कालापानी र सुस्ता क्षेत्र बाहेक सबै ठाउँको सीमा स्ट्रिप म्याप सहमतिको आधारमा तयार गरेको बताएका छन्।
सन् २०१४ मा गठन भएको सीमा सम्बन्धी संयुक्त कार्य समूह ((JWG )मा नेपालले सबै सीमाक्षेत्रको स्ट्रिप म्यापमा सहमति भएपछि मात्र त्यसमा हस्ताक्षर गर्ने अडान राखेको र सन् २०१९ मा नेपालमा बसेको परराष्ट्रमन्त्री स्तरको संयुक्त आयोग (JC ) ले सीमा सम्बन्धी उक्त विवादको समाधानको लागि दुई देशको परराष्ट्र सचिव स्तरको संयन्त्रमा छलफल गर्ने निर्णय गरेको उनले बताएका छन्।
त्यसपछि नेपालले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा सविधानमा नै राख्दै यो अडानलाई कार्यान्वयन गर्ने कुटनीतिक पहललाई निरन्तरता दिदै आएको उनले बताएका छन्।
यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीले संसदमै सीमा विवादबारे दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको श्रेष्ठले बताएका हुन्।