नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।
नेकपा (एमाले) संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरूद्ध लक्षित हुन थालेको दाबी गरे।
उनले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताए।
प्रधानमन्त्री बालेन शाहले हामी अतिक्रमणकारी हौँ र अरूको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी उनले गरे।
उनले भने, ‘अहिले पनि हाम्रो पार्टीविरूद्ध यस प्रकारका हमलाहरू जारी नै छन्। अहिले त पार्टीमाथि गरिएका हमलाले नपुगेर पपुलिस्टहरू देशविरूद्ध नै हमला गर्न उत्रिएका छन्। उनीहरू देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेका छन्। संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन्। यस्तो अवस्थामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको प्रमुख आतिथ्यमा हुन गइरहेको यो कार्यक्रम विशेष महत्वको छ। खासगरी, उहाँलाई पक्राउ गरिसकेपछि संगठन विभागको यस कार्यक्रममा उहाँको यो पहिलो मन्तव्य हो। यस अर्थमा राष्ट्रिय राजनीतिको सन्दर्भमा एमालेका दृष्टिकोणहरू प्रश्तुत गर्नका लागि यो एक महत्वपूर्ण मञ्च हो।’
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताए। –न्युज एजेन्सी नेपाल